काठमाडौं, जेठ १० । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठवन्धन सरकारले पेट्रोलियम पदार्थको भाउ घटाउने, खपत घटाउने तथा महंगी नियन्त्रण गर्ने कुनै कार्यक्रम ल्याएन । गठबन्धन सरकारको आज सरकारको वार्षिक नीति तथा कार्यक्रममा विभिन्न कार्यक्रम घोषणा गरिए पनि यस्ता कार्यक्रम घोषणा नगरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को दुवै सदनको संयुक्त वैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति कार्यक्रममा पेट्रोलियम पदार्थको मूल्य अहिले स्वचालित मूल्य निर्धारण प्रणालीबाट तय गरिने घोषणा गरिएको छ । नियन्त्रण गर्ने र घटाउने कुनै योजना ल्याइएन ।
सरकारले खाना पकाउने ग्यासको खपत घटाउन विद्युत महशुलमा विचार गर्ने भनेको छ । तर, भारतबाट आयात गरेर विद्युत वितरण भइरहेको अवस्थामा महशुल कसरी घटाइन्छ भन्नेमा नीति तथा कार्यक्रम मौन रहेको छ । अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको बेला सरकारले आयात प्रतिस्थापन गर्ने तथा उत्पादन बढाउने भने पनि त्यस अनुसारको ठोस कार्यक्रम ल्याइएको छैन ।
महंगी नियन्त्रणमा गठवन्धन सरकारको नीति तथा कार्यक्रम मौन रहेको छ । उत्पादनमुखी तथा रोजगार दिने क्षेत्रमा कर्जा प्रवाहलाई सहज बनाइने भनेर सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, तर, अहिले देश रकम अभावसँग जुधिरहेको छ । बैंकले ऋण दिन सक्ने अवस्था छैन । तरलता समस्या समाधानका बारेमा पनि नीति तथा कार्यक्रम मौन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्