जनता टाइम्स

११ जेष्ठ २०७९, बुधबार १४:२०

मुलुकलाई बचाउन खाद्यान्न जोहोको निर्णय : भारतले चिनी निर्यातमा लगायो रोक


काठमाडौं, ११ जेठ ।  भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । १ जुन (१८ जेठ) देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको इकोनोमिक्स टाइम्सले जनाएको छ ।रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिए पछि विभिन्न मुलुकले त्यसको असरबाट आफ्नो मुलुकलाई बचाउन खाद्यान्न जोहोको निर्णय गरिरहेका छन् ।

केही दिन अघि भारतले फलामको कच्चा पदार्थ स्पन्ज आइरनको निर्यातमा कर वृद्धिको निर्णय गरेको थियो ।वाणिज्य विज्ञ रविशंकर सैजुका अनुसार भारतले लगाएको निर्यात रोकको असर नेपाली बजारमा पर्नेछ । नेपालको आन्तरिक उत्पादनले नपुग्ने भएकाले नेपाल–भारत लगायतका मुलुकमा चिनीमा परनिर्भर रहेको उहाँले बताउनुभयो ।

नेपाल चिनी उद्योग संघले दिएका जानकारीअनुसार यो चालु आवमा नेपालमा ३ लाख २१ हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । तर, त्यसमा कति उपभोग भयो भन्ने विवरण कुनै सरकारी निकायसँग छैन् । चालु आर्थिक वर्षको वैशाखसम्म ४ अर्ब ८३ करोडको ९४ हजार ८४ मेट्रिकटन चिनी नेपालमा आयात भएको भन्सारको विवरणमा देखिन्छ ।