जनता टाइम्स

११ जेष्ठ २०७९, बुधबार १५:२४

पुर्चौडीका नवनिर्वाचित जनप्रतिनिधिको निर्णय- सहिद परिवारलाई वार्षिक २५ हजार निर्वाह खर्च दिने


बैतडी, ११ जेठ । बैतडीको पुर्चोडी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै केही निर्णय पनि गरिएका छन् । पुर्चौडी नगरपालिकाले प्रमाणीकरण सूचीमा रहेका सहिद परिवारहरुलाई सम्मान स्वरुप प्रतिपरिवारलाई वार्षिक एकमुस्ट २५ हजारका दरले निर्वाह खर्च उपलब्ध गराउने र जनयुद्धका घाइतेहरूका लागि निशुल्क उपचार हुनेगरी स्वास्थ्य बिमा गर्ने निर्णय गरिएको छ ।

यसैगरी नगरपालिकाले पालिकाको केन्द्रमा रहेको पुर्चोडी हाट स्वास्थ्यचौकीबाट आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना १ साउनदेखि नै एक्सरे तथा भिडियो एक्सरेसहितको चिकित्सकीय सेवा सुचारु गर्ने निर्णय पनि गरिएको छ । यसैगरी ज्येष्ठ नागरीक तथा दिर्घ रोगीहरुको निशुल्क स्वास्थ्य परीक्षण र उपचारका लागि गाउँघरमै चिकित्सक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

यसैगरी नगरपालिका भित्र सञ्चालित विद्यालयहरूमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई अध्ययन निशुल्क गर्न विद्यार्थीहरूको भर्ना तथा पठनपाठन शुल्कबापतको रकम शोधभर्ना गर्ने निर्णय पनि भएको छ । पुर्चौडी नगरपालिकाका १० वटै वडाहरूमा विद्युत् विस्तार कार्य प्रारम्भ गरी दुई वर्षभित्रमा उज्यालो पुर्चोडी घोषणा गर्ने निर्णय पनि गरिएको छ ।

पर्चौडी नगरपालिकाले जनयुद्धका बेला सहिद परिवारलाई वार्षिक २५ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय भएको छ । नगर प्रमुख दीपकबहादुर बमले पदभार ग्रहण गर्दै पहिलो निर्णयको रुपमा सो निर्णय गरिएको हो । नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखले पदभार ग्रहण गरेसँगै निवर्तमान नगर प्रमुख रण बहादुर कुवँर र उपप्रमुख जानकी ऐर बमको बिदाई पनि गरिएको छ ।