जनता टाइम्स

११ जेष्ठ २०७९, बुधबार ००:००

अम्लेखगञ्जमा खानेपानीको हाहाकार, स्थानीयलाई सधैं सास्ती


बारा, ११ जेठ । बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित ऐतिहासिक अमलेखगञ्जमा पानीको स्रोत नहुँदा स्थानीयले सधैं सास्ती भोग्नुपर्ने बाध्यता छ । वर्षायाममा फुट्ने स–साना पानीको मुहान पनि हिउँदमा सुक्ने हुँदा सुख्खायाममा उनीहरुको दुःख अझै बढ्ने गरेको छ । वर्षायाममा धमिले र हिउँदमा सुख्खाका कारणसमेत उनीहरूलाई दुस्ख हुने गरेको छ ।

पानी ओसार्नकै लागि ३ नम्बर पुलस्थित खोलामा पुग्नुपर्ने उनीहरूको सधैंको बाध्यता बनेको छ । १२३ घरधुरी बासिन्दालाई डोकोमा तल खोलाबाट पानी बोकेर उकालो चढ्नुपर्ने बाध्यता छ । खानेपानीको समस्याकै कारण स्थानीय बासिन्दा खोलाकै पानी खान बाध्य भएका छन् ।

खानेपानीको अभावमा यहाँका होटेल व्यवसायसमेत संकटमा पर्न थालेका छन् । खानेपानीको लागि न त सरकारले कुनै विकल्प खोजेको छ न त स्थानीय सरकारले नै चासो दिएको छ । स्थानीय तथा केन्द्रीय सरकार दुबैले चासो नदेखाएपछि बाध्य भएर खोलाको पानी नै खाने गरेको स्थानीय कृष्णबहादुर विकले बताउनुभयो । खोला र मुहानको पानी सिधै पिउने गर्दा स्थानीय बिरामी भएका छन् ।

पिउनसम्म पानीको अभाव रहेको हुदा खोलाको पानी सेवन गर्दा बिरामीसमेत हुनु परेको मायादेवी लामाले बताउनुभयो । स्थानीयबासीहरुलाई खानेपानीसम्बन्धी समस्या दिन प्रतिदिन बढ्दै गएको छ । चुरे पहाडकै फेदमा रहेको अमलेखगञ्ज बस्तीमा खानेपानीको समस्या र हाहाकार भएको हो । पानी संकलन गर्न नयाँ बिजौरी, पुरानो बिजौरी, ४ नम्बर पुल छेउ र १ नं. मुहान गरी ४ वटा मुहान प्रयोगमा ल्याइएको थियो ।