जनता टाइम्स

३० असार २०७६, सोमबार ००:२७

इंग्ल्यान्ड क्रिकेटको नयाँ विश्वविजेता, सुपर ओभर टाई भएपछि बाउन्ड्रीका आधारमा विजेता घोषित


काठमाडौं, असार ३०

आइसिसी क्रिकेट विश्वकप २०१९ को उपाधि इंग्ल्यान्डले जितेको छ। लन्डनमा भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक विश्व च्याम्पियन बनेको हो।

विश्वकपको इतिहासमा सुपर ओभरबाट विजेता छानेको यो पहिलो पटक हो । सुपर ओभरपनि बराबरी भएपछि बाउन्ड्रीबाट विश्वविजेता चुनिएको पनि पहिलो पटक हो । निर्धारित ५० ओभरको खेलमा दुवै टोलीले समान २४१ रन बनाएपछि खेल सुपर ओभरमा आएको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १५ रन जोड्यो । इंग्ल्यान्डका लागि बेन स्टोक्स र जोस बटलरले ब्याटिङ गरेका थिए भने न्युजिल्यान्डका ट्रेन्ट बोल्टले बलिङ गरेका थिए । स्टोक्सले १ चौका सहित ८ रन र बटलरले १ चौकासहित ७ रन जोडे । दोस्रो पटक फाइनल खेलिरहेको न्युजिल्यान्डका लागि सुपर ‌ओभर खैल्न मार्टिन गुपटिल र जीमी निसमले आएका थिए भने इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले बलिङ गरेका थिए ।

पहिलो बल बाइड भयो। दोस्रो बलमा छक्का हिर्काएका निसमले पाँच बलमा १३ रन जोडे । अन्तिम बलमा न्युजिल्यान्डलाई २ रन चाहिएको थियो। जसमा २ रन लिने क्रममा मार्टिन गुपटिल रनआउट हुँदा इंग्ल्यान्ड बाउन्ड्रीका आधारमा विजयी भयो । ५० ओभरका खेलमा इंग्ल्यान्डले २१ चौका र दुई छक्का प्रहार गरेको थियो भने न्युजिल्याण्डले १४ चौका र २ छक्का प्रहार गरेको थियो ।

यसअघि ५० ओभरमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन जोड्यो । जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले पनि सबै विकेट गुमाउँदा २४१ रन नै जोड्यो । अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको इंग्ल्यान्डका लागि बेन स्टोक्सले न्युजिल्यान्डका ट्रेन्ट बोल्टलाई तेस्रो बलमा छक्का प्रहार गरे । चौथो बल ओभर थ्रो हुँदा ६ रन भएपछि इंग्ल्यान्ड खेलमा फकिएको थियो । गप्टिलले थ्रो गरेको बल स्टोकको ब्याटमा लागेर बाउन्ड्री गएपछि न्युजिल्याण्डको विश्व विजेता बन्ने आशामा तुसारापात भएको थियो ।

पाँचौ बलमा २ रन लिने क्रममा अदिल रसिद रन आउट भएका थिए । अन्तिम बलमा जितका लागि एक बलमा दुई रन चाहिएको थियो । दोस्रो रन लिने क्रममा मार्क उड रनआउट भएपछि खेल बराबरीमा सकिएको थियो । बेन स्टोक्सले इंग्ल्यान्डका लागि सबैभन्दा बढी अविजित रहदै ८४ रन जोडे । जोस बटलरले ५९ रनको योगदान दिए । बलिङमा न्युजिल्यान्डका जेम्स निसम र लकी फर्ग्युसनले ३–३ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन जोड्यो। न्युजिल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान हेनरी निकोल्सले ५५ रनको योगदान दिए। उनले ७७ बलमा ४ चौका प्रहार गरे। ओपनर मार्टिन गुपटिल १९ रनमा आउट भए। कप्तान केन विलियमसनले ३० रनको योगदान दिए। रोश टेलर १५ रन बनाएर खेलिरहदा जोन उडको एलबिडब्लुको धरापमा परे।

जेम्स निसमले २५ बलमा ३ चौकाको मद्दतमा १९ रन र कोलिन डे ग्रान्डहोमले १६ रन बटुले। टम लाथम ४७ रन बनाएर आउट भए। उनले ५६ बलमा २ चौका र १ छक्का हिर्काए। बलिङमा इंग्ल्यान्डका क्रिए ओएक्स र लियाम प्लङ्केटले समान ३–३ विकेट लिए। जोफ्रा आर्चर र मार्क उडले १–१ विकेट हात पारे।

सन् १९७९, १९८७ र १९९२ को विश्वकपको फाइनल पुगे पनि इंग्लिस टिम उपविजेतामै सीमित बनेको थियो। न्युजिल्यान्ड भने सन् २०१५ को फाइनलमा पुगे पनि अस्ट्रेलियासँग पराजित भएको थियो।