जनता टाइम्स

११ जेष्ठ २०७९, बुधबार १८:०८

गठबन्धन सरकारको नीति कार्यक्रम इतिहासकै सबैभन्दा नालायक छ : विष्णु पौडेल


काठमाडौं, ११ जेठ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने बताउनुभएको छ । उपाध्यक्ष पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहिन भएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रमले मुलुकको आजका समस्याहरु चिन्न नसकेको र समाधान दिन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले नीति तथा कार्यक्रममा कुनै दृष्टिकोण नभएको उल्लेख गर्दै बालुवा चुसेजस्तो निराश भएको टिप्पणी गर्नुभयो ।उहाँले भन्नुभयो,‘गठबन्धन जस्तो छ, नीति कार्यक्रम पनि त्यस्तै छ । यो इतिहासकै सबैभन्दा नालायक, सारहिन, गन्तव्य, दिशाबिहिन, मुलुकका आजका समस्या चिन्न नसकेको र समाधान दिन नसकेको, बालुवा चुसेजस्तो निरश छ यो । यसमा कुनै दृष्टिकोण छैन । कुनै गन्तव्य छैन । यसले मुलुकका आजका समस्या चिनेको छैन । समाधान दिने यसमा कुनै दृष्टिकोण छैन । समयको अपव्यय मात्रै हो यो ।’

उपाध्यक्ष पौडेलले सरकारले अवलम्वन गरेका नीति तथा निर्णयहरुका कारण मुलुकमा भयानक संकट आइपर्न लागेको बताउनुभयो । उहाँले आर्थिक संकटको बारेमा सरकार मौन रहेको बताउनुभयो । उहाँले विगतमा सकारले गरेका राम्रा कामहरुलाई यस सरकारले निरन्तरता नदिइ नीति तथा कार्यक्रम पूर्वाग्रही रुपमा ल्याएको पनि बताउनुभयो । उहाँले थप्नुभयो,‘आजका आर्थिक संकटको कारणको बारेमा यो सरकार पस्नै चाहदैन । किनभने यो सरकारकै कारणले गर्दा, यसले अवलम्वन गरेका नीतिका कारणले गर्दा, यसले गरेका निर्णयहरुका कारणले गर्दा मुलुक आर्थिक रुपमा यो भयानक संकटको सम्मुखमा आइपुगेको छ ।

तर त्यसप्रति यसले चुप्पी साँधेको छ । मौनता गर्देको छ । मानौँ यसमा मुलुकको अर्थतन्त्र सबै लयमा छ । ठिकठाक छ भनेजस्तो गर्या छ । यो नीति कार्यक्रम पूर्वाग्रही पनि छ । सरकार निरन्तरतामा चल्ने, बुझिने चिज हो । हिजोका राम्रा कामहरुलाई तिनको निरन्तरतामा सरकार अगाडी बढ्नुपर्ने हो । तर हिजोका राम्रा कामहरुलाई यसले निरन्तरता दिन चाहेको छैन ।’

नीति तथा कार्यक्रमले विगतमा अगाडी बढाइएका राष्ट्रिय गौरवका आयोजनाहरुका प्रभावकारी कार्यान्वयनमा कुनै चासो र चिन्ता व्यक्त नभएको उहाँको भनाई छ । राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका आयोजनाहरुलाई अगाडी बढाउने सन्दर्भमा पनि सरकार पूर्वाग्रही बनेको उहाँले आरोप लगाउनुभयो । स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित हुन नसकेको उल्लेख गर्दै उहाँले निष्पक्ष, भयरहित र स्वतन्त्र बातावरणमा निर्वाचन सम्पन्न भयो भनेर जनतालाई गुमराह गर्ने कोशिस भएको बताउनुभयो ।

नीति कार्यक्रम भाषिक दृष्टिकोणले पनि कमशल रहेको उहाँले सुनाउनुभयो । यसले मुलुकलाई कुनै नतिजा दिन नसक्ने पनि दाबी गर्नुभयो । उपाध्यक्ष पौडेलले अब गठबन्धनको ओरालो यात्रा सुरु हुने बताउनुभयो । आगामी निर्वाचनमा गठबन्धनको पटाक्षप हुने उहाँले बताउनुभयो । आगामी निर्वाचन पछि नेकपा (एमाले) को नेतृत्वमा सरकार बन्ने कुरालाई कसैले रोक्न नसक्ने उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो गठबन्धनको पटाक्षप आउने निर्वाचनमा हुनेवाला छ । गठबन्धनले जे गेन गर्न सक्ने हो, त्यो गरिसक्यो ।

अब यसको ओरालो यात्रा सुरु हुन्छ । र आउने निर्वाचनमा गठबन्धनको पटाक्षप हुन्छ । म तपाईहरुसँग फेरी दाबी गरेर भन्छु, आउने निर्वाचनमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने कुरा कसैले रोक्न सक्दैन । नेकपा एमाले संसदको ठुलो पार्टी हुने एमालेको हैसियतलाई कसैले रोक्न सक्दैन । यसपटकको निर्वाचनमा पनि एकखालको प्रयोग भइसकेको छ । सारा दल एकातिर हुँदापनि नेकपा (एमाले) को श्रेष्ठतालाई कसैले खण्डित गर्न सकेको छैन ।

निर्वाचन परिणामका हिसाबले, निर्वाचित भएका पदाधिकारी सदस्य संख्याको हिसाबले एमाले दोस्रो भएको होला, जनमतको हिसाबले, संगठनात्मक शक्तिको हिसाबले एमालेलाई चुनौती दिने तागत कसैसँग छैन । एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसियत नै कसैसँग छैन । यो त अहिले पनि देखिइसकेको छ ।’ उहाँले अहिलेको नीति तथा कार्यक्रमले मुलुकको आर्थिक संकटका कारणहरुलाई चिनेर त्यसको निराकरण गर्नेगरी ल्याउनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो ।