जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार ००:००

भारतमा भन्दा नेपालमा महँगो बन्यो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं, १२ जेठ । भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य नेपालमा महँगो बनेको छ । विगत लामो समयदेखि भारतको तुलनामा सस्तो मूल्य बिक्री वितरण भइरहेको पेट्रोलियमको मूल्य यतिबेला भने महँगो बनेको छ । नेपाल आयल निगमका अनुसार भारतको रक्सौलको तुलनामा नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य महँगो छ ।

रक्सौलमा पेट्रोल प्रतिलिटर १७४.७७ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । जुन, नेपालमा प्रतिलिटर १८० रुपैयाँ बिक्री मूल्य तोकिएको छ । नेपालमा भारतको तुलनामा पेट्रोलको मूल्य प्रतिलिटर ५.२३ रुपैयाँ महँगो छ । यसैगरी, रक्सौलमा डिजेलको मूल्य प्रतिलिटर १५३.४४ रुपैयाँ छ । नेपालमा भने डिजेलको बिक्री मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम छ ।

जुन, भारतको तुलनामा प्रतिलिटर ९.५६ रुपैयाँले बढी हो । भारतले पछिल्लो समय निरन्तर पेट्रोलियमको मूल्य घटाइरहेको छ । भारत सरकारले भर्खरै डिजेल÷पेट्रोलमा लाग्दै आएको अन्त शूल्क घटाएको थियो । जसले नेपालको तुलनामा भारततर्फ पेट्रोलियमको मूल्य सस्तो बनाएको हो ।