जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार १७:४४

मेलम्चीको खानेपानी घरको धारामा आएपछि भक्तपुरवासी दंग


भक्तपुर, जेठ १२ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरवासीको घरमा धारामा खसेको छ । भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरेको छ ।

हाललाई कटुञ्जेस्थित खानेपानी ट्यांकीबाट भक्तपुर नगरपालिका वडा नम्बर १, २, ३, ४ र ५ वडामा आजदेखि मेलम्चीको खानेपानी वितरण सुरु भएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्रहिमालय श्रेष्ठले बिहीबार संयुक्त रूपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरवासीहरुको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आएको स्मरण गराउनु भयो । उहाँले भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु भएसँगै जनताहरु निकै खुसी भएको बताउनु भयो ।

केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख श्रेष्ठले भक्तपुरबासी जनतालाई मेलम्चीको खानेपानी वितरण गर्न सफल भएकोमा गौरवान्वित महसुस भएको बताउँदै भक्तपुरमा अब खानेपानीको समस्या सहज हुने बताउनु भयो ।

मेलम्चीको पानी वितरणसगै भक्तपुरका स्थानीय निकै खुसी देखिएका थिए । विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयले मेलम्चीको पानी वितरण भएसँगै नगर प्रमुख सुनिल प्रजापतिलाई धन्यवादसमेत दिएका छन । पानी वितरणसँगै ठाउँठाउँमा पाइप फुटेर पानी चुहिएको छ ।