जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार १८:१७

देवाही गोनाही नगर बासिन्दालाई २० युनिट विद्युतको महसुल निःशुल्क


रौतहट, १२ जेठ । देवाही गोनाही नगरपालिकाका नवनिर्वाचित प्रमुख प्रेमलाल साह कानु र उपमेयर परनिया देवी पटेलले नगरवासीलाई मासिक २० युनिट विद्युत निःशुल्क गर्ने निर्णय गर्नुभएको छ । पद बहालीलगत्तै उहाँहरुले नगरवासीका लागि मासिक २० युनिटसम्म विद्युत महसुल निःशुल्क उपलब्ध गराउने निर्णय गर्नुभएको हो ।

नगरवासीको स्वास्थ्य उपचारमा विशेष सेवा पुर्याउने उद्देश्यले नगरपालिकाको लगानीमा अल्ट्रासाउन्ड मेसिन खरिद गरी स्वास्थ केन्द्रमा जडान गर्ने निर्णय पनि भएको छ । जनताले आफूहरुलाई विश्वास गरेर पाँच वर्षका लागि चयन गरेको भन्दै यो अवधिमा आफूहरुले अब जनताको सुविधाका लागि ध्यान दिने बताउनुभएको छ ।

नवनिर्वाचित प्रमुख साहले आफू भूमिहीन र निम्न वर्गको परिवारबाट राजनीतिमा आएको भन्दै आफूले पनि निम्न वर्गको जनतालाई सर्वोपरी ठानेर काम गर्ने बताउनुभयो । दोस्रोपटक उपप्रमुखमा निर्वाचित हुन सफल परनिया देवी पटेलले महिलामुखी योजनाहरु ल्याउने तथा अघिल्लो कार्यकालमा अधुरो रहेका काम पूर्ण इमानदारीका साथ पूरा गर्ने बताउनुभयो ।