जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार ०८:१९

सुनिता डंगोलको ऐतिहासिक कीर्तिमान


काठमाडौं, जेठ १३ । नेकपा एमालेकी सुनिता डंगोलले २०७९ को वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मत र मतान्तर पाउने कीर्तिमानी बनाउनुभएको छ ।

सुनिताले यो निर्वाचनमा सर्वाधिक मत अर्थात ६८ हजार ६ सय १२ मत प्राप्त गर्नुभएको हो । सुनिताले प्राप्त गरेको मत अन्य महानगरका उम्मेदवारले प्राप्त गरेको भन्दा धेरै हो । बहुपरिचय बनाएर राजनीतिमा आउनु भएकी सुनिताले मतान्तर पनि सबैभन्दा बढी बनाउनु भएको छ ।

सुनिताले ललितपुर महानगरपालिकाको मेयरमा विजयी भएका उम्मेदवारको भन्दा बढी मतान्तर नै बनाउनु भएको छ। ललितपुरको मेयरमा निर्वाचित कांग्रेसका चिरिबाबु महर्जनले ४२ हजार ७ सय २२ मत प्राप्त गर्नुभएको छ । जबकी सुनिताको मतान्तर नै ४४ हजार ८ सय ६ रहेको छ । सुनिताका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाउनुभयो।

पोखरा महानगरपालिकाको प्रमुखमा विजयी भएका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरूङले ६० हजार ५ सय ४६ मत प्राप्त गर्नुभएको छ ।

भरतपुर महानगरपालिकाको प्रमुखमा विजयी नेकप माओवादी केन्द्रकी रेणु दाहालले ५२ हजार ०२८ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा विजयी नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ८ सय ०३ मत ल्याउनुभएको छ ।
ललितपुर महानगरपालिकाको मेयरमा विजयी भएक नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ४२ हजार ७ सय २२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखमा विजयी नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्यले २५ हजार ०८४ मत प्राप्त गर्नुभएको छ ।

वीरगञ्ज महानगरपालिकाको प्रमुखमा विजयी भएका जनता समाजवादी पार्टीका राजेशमान सिंहले ४६ हजार २ सय १५ मत ल्याउनुभएको छ । त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले ३० हजार ०७८ मत प्राप्त गर्नुभएको छ ।

विराटनगर महानगरपालिकाको प्रमुखमा विजयी भएका नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १ सय ७० मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेकप एमालेकी शिल्पा कार्कीले २५ हजार ६ सय ८० मत प्राप्त गर्नुभएको छ ।