जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार १५:४६

एलपी ग्यास बोकेको बुलेटमा आगलागी, ग्यास भने सुरक्षित


चितवन, १३ जेठ । नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा तीन दिनदेखि रोकिराखेको ग्यास बोकेको बुलेटमा आगलागी भएको छ । बुलटेको अगाडिको भाग र पांग्रा जलेर नष्ट भए पनि ग्यास भने सुरक्षित छ । आज दिउँसो करिब १२ः५० बजेको समयमा युपी १७ए टी८६२७ नम्बरको बुलेटमा आगलागी भएको हो ।

भरतपुर महानगरपालिकाको दुई र नेपाली सेनाको एउटा दमकलले आगो निभाइएको हो । बुलेटमा लागेको आगोले बिजुलीको तार तातेर लत्रिएपछि एउटा पोल सडकमा ढलेको थियो । पोल हटाएर बाटो सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त नरहरि अधिकारीले जानकारी दिनुुभयो ।

आगलागीबाट मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो । उक्त ग्यास बुलेट भारतको उडिसास्थित पैरवी ग्यास कम्पनीबाट धादिङस्थित श्रीराम ग्यास उद्योगको लागि ग्यास बोकेर आएको उहाँले सुनाउनुभयो । बुलेटको ब्रेक फेल भएपछि सडक छेउमा रोकेर राखिएको हो ।