जनता टाइम्स

१४ जेष्ठ २०७९, शनिबार ०८:२४

भक्तपुरको सरकारी जग्गा बेच्न सवा ५ करोड बैना लिएपछि


काठमाडौं, जेठ १४ । सरकारी जग्गा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सुडालमा रहेका विभिन्न कित्ता नम्बरका अर्कैका नाममा रहेका जग्गा बेचाउने गिरोहका दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भक्तपुरका ७२ वर्षीय केशव प्रसाद अधिकारी र ५८ वर्षीय ईश्वर गाईजु रहेका छन् ।

उनीहरूले भक्तपुरको सुडालमा रहेको सरकारी जग्गालाई सम्बन्धित जग्गा धनीसँग अनुमती नलिई अनुमति लिएका छौं भनी झुक्याई ५ करोड २० लाख रूपैयाँ बैना लिई ठगी गरेका थिए । आफु ठगिएको भन्दै खोटाङ बुईपा ३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बस्ने धनिराम राई समेतले प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुवै भक्तपुर मालपोत कार्यालयको गेटबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।