जनता टाइम्स

१४ जेष्ठ २०७९, शनिबार ०८:४३

कैलालीमा बेकारको आन्दोलन भइरहेको छ, भ्रम सिर्जना नगरौँ भनेपछि प्रधानमन्त्री पत्नी राणा फेरी विवादमा


कैलाली, १४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले कैलालीमा गेटा मेडिकल कलेजका लागि भइरहेको आन्दोलनको कुनै अर्थ नभएको टिप्पणी गरे लगतै पुन विवादमा तानिनुभएको छ। भिडियो सन्देश मार्फत उहाँले गेटा मेडिकल कलेजको लागि यसै आर्थिक वर्षमा बजेट व्यवस्था हुने आश्वासन दिँदै बेकारको आन्दोलन भइरहेको अभिव्यक्ति दिनुभएको हो ।

‘निर्वाचनका कारण ढिला भएको हो । एक दुई हप्तामै समिति बन्छ । सञ्चालनको लागि यो बजेटमा बजेट आउँछ’ उहाँले भन्नुभयो ‘यो बेकारको आन्दोलन गर्ने र बेकारको भ्रम सिर्जना नगर्न म अनुरोध गर्न चाहन्छु ।’ उहाँले गेटा मेडिकल कलेज बारे भइरहेको आन्दोलन सुन्दा अचम्म लागेको समेत बताउनुभएको छ ।

‘गेटामा रहेको क्याम्पस सम्बन्धी विभिन्न टिका टिप्पणी भइरहेको र आन्दोलन समेत भइरहेको सुन्दाखेरि कैलालीमा अचम्म लागेको छ’ उहाँले भन्नुभएको छ । आफूले चुनावमा समेत यस विषयमा बताउँदै आएको उहाँले स्मरण गराउनुभएको छ । ‘मैले चुनावको दौरानमा अवगत गराएको थिए र त्यहाँको डाक्टरलाई पनि अवगत नै छ । चैत्र ४ गते त्यहाँ ३०० शय्याको अस्पताल खोल्ने निर्णय भइरहेको कुरा बाहिर आइसकेको छ’ उहाँले भन्नुभयो नेपाल सरकारको नियम अनुसार तीन वर्ष अस्पताल चलाएपछि मात्रै क्याम्पस चलाउन सकिन्छ । त्यही नियम अनुसार पहिला गेटामा अस्पताल सञ्चालन चाडै हुन गइरहेको छ ।’

मंगलबार सरकारले ल्याएको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजको विषय उल्लेख नभए पनि कैलालीमा आन्दोलन भइरहेको छ । नीति तथा कार्यक्रममा मेडिकल कलेज नसमेटिएपछि करिब ९० प्रतिशत पूर्वाधार तयार भइसकेको गेटामा अन्यौलता सृजना भइरहेको छ । यहाँ सबै पक्षले तत्काल बजेट व्यवस्था गरेर गेटा मेडिकल कलेजलाई अगाडी बढाउन दबाब दिइरहेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री पत्नी समेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्यले बेकारको आन्दोलनको संज्ञा दिँदा उहाँको अभिव्यक्ति समेत विवादमा तानिएको छ ।