जनता टाइम्स

१४ जेष्ठ २०७९, शनिबार ०९:०६

पोखरा महानगरका मेयर धनराजसँग सोधियो २४ घण्टे स्पष्टीकरण


काठमाडौं, १४ जेठ । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तहमा निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत भन्दा बढी मत बदर हुन गएको भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि आयोगले मेयर आर्चायलाई स्पष्टीकरण सोधेको हो ।

उहाँलाई आयोग र आयोगका प्रमुख पदाधिकारीको सन्दर्भमा बोलेको विषय तथा श्रव्यदृश्य सामाग्रीहरु के कति कारणले अभिव्यक्त गरेको हो ? निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ र मतपत्रका कुन चिन्ह कसरी राखिन्छ भन्ने जानकारी छ, छैन भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।

यस्तै मेयर आर्चायलाई आयोगले राजनीतिक दल र सरोकारवालाहरुको सहमति तथा विज्ञहरुको राय समेतको आधारमा २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनदेखि प्रयोग गर्दै आएको आकार, प्रकार र ढाँचा बमोजिमको मतपत्रलाई लिएर आयोग र अन्य पदाधिकारी प्रति द्वेषपूर्ण अभिव्यक्ति दिनुको कारण के हो ?

निर्वाचन आयोगबाट विज्ञटोलीको सिफारिसमा कानून बमोजिम गरेको निर्णयलाई कुनै पदाधिकारीको एकल निर्णय करार गरी व्यक्तिगत दुराग्रह आक्षेप लगाउन मिल्छ, मिल्दैन ? महानगरपालिकाको प्रमुख पदमा निर्वाचित व्यक्तिसँग कानून बमोजिम बदर भएको मतलाई आयोगको बदनियतले बदर भएको भनी पुष्ट्याई गर्ने आधार, प्रमाण र कारण के छ ? भन्दै प्रष्ट पार्न निर्देशन समेत दिएको छ ।

निर्वाचन आयोग र यसका प्रमुख पदाधिकारीको विरुद्धमा आम नागरिक र जनसमुदायमा भ्रम छर्ने गरी सार्वजनिक वक्तव्य दिई स्थानीय तह निर्वाचन, २०७९ को निष्पक्षता र विश्वसनीयता माथि नै प्रश्न उठाउनु पर्नाको कारण खुलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।