जनता टाइम्स

१४ जेष्ठ २०७९, शनिबार १२:०६

अर्थतन्त्र सङ्‍कटमा फस्यो, सरकारले उकास्‍ने जोखिम बहन गर्नुपर्छ : गगन थापा


काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले अर्थतन्त्र समस्याग्रस्त मात्र नभई सङ्‍कटमा फस्दै गएको बताउनुभएको छ । सरकारले तत्काल सङ्‍‍कटमा फस्दै गएको अर्थतन्त्रलाई उकास्नेगरी सम्बोधन गर्नुपर्ने उहाँले औँल्याउनुभयो । सङ्‍घीय संसद्‍मा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै उहाँले सरकारसँग सङ्‍कटमा फसेको अर्थतन्त्रलाई उकास्‍नेगरीको जोखिम बहन गर्न सक्ने क्षमता हुनुपर्ने बताउनुभयो ।

‘मुख्य कुरा भनेको अर्थतन्त्रको अवस्था समस्याग्रस्त मात्रै होइन, सङ्‍कटमा फस्‍न थालेको छ । आन्तरिक र बाह्य कारणले गर्दा जोखिम बढ्यो भने त्यो जोखिमलाई बहन गर्नुपर्छ । जोखिम आइसक्यो । जोखिमलाई सम्बोधन गर्न सरकारको ध्यान जानुपर्‍यो’, थापाले भन्नुभयो । उहाँले वर्षेनी ब्यापार घाटा उच्च हुँदै गएको भन्दै चिन्तासमेत ब्यक्त गर्नुभएको छ ।

‘हाम्रो व्यापार घाटा उच्च भयो । गएको वर्ष पनि थियो । विगत १०–१२ वर्षयता लागतार ब्यापार घाटा छ । आगामी वर्ष अझ बढ्नेवाला छ । हाम्रो आम्दानीको स्रोत सीमित छ’, थापाले भन्नुभयो, ‘रेमिट्यान्स छ । थोरै वैदेशिक लगानी आएको छ । थोरै अनुदान आएको छ । आम्दानीको स्रोत कम छ । खर्च बढी छ ।’ उहाँले ब्यापार घाटा न्यूनीकरण गर्न उत्पादन बढाएर निर्यात वृद्धि गर्नुपर्ने बताउनुभयो ।