जनता टाइम्स

१८ जेष्ठ २०७९, बुधबार १९:२९

नीति तथा कार्यक्रम अधुरो र खोक्रो : पूर्व मुख्यमन्त्री पौडेल


हेटौंडा, १८ जेठ । बागमती प्रदेशका पूर्व मूख्यमन्त्री डोरमणि पौडेलले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अपुरो, अधुरो र खोक्रो भएको बताउनुभएको छ । प्रदेशसभाको नीति तथा कार्यक्रममाथि धारणा राख्दै पौडेलले नीति तथा कार्यक्रम मासु नभएको अस्पिरपञ्जर जस्तो मात्रै भएको बताउनुभएको हो । उहाँले समाजवादका कुरा गरिए पनि व्यवहारमा नदेखिएको र आफूले खोजेको कुरा नीति तथा कार्यक्रममा नभेटिएको बताउनुभयो ।

आफ्नो नेतृत्वको सरकारले बनाएको नीति तथा कार्यक्रम फिक्का बनाउने ढंगले अहिलेको कार्यक्रम आउने अपेक्षा गरेको तर त्यसो नभएको उहाँले बताउनुभयो । समाजवादको नारा र कुरा गर्नेहरुले समाजवादी कार्यक्रम नल्याएको उहाँको दाबी छ ।

त्यसैगरी बागमती प्रदेशको पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यो नीति तथा कार्यक्रम बेवारिसे बन्ने निश्चित भएको दाबी गर्नुभयो । उहाँले हेटौंडा कपडा उद्योग ध्वस्त भएको र चलायमान नभएको बताउँदै त्यही उद्योगबाटै उत्पादन भएको लुगा लगाउनै पर्छ भनेर केन्द्रीय बजेटमार्फत निर्देशन जारी गर्नु उचित नभएको बताउनुभयो । महिला हिंसा मुक्त प्रदेश बनाउन प्रदेश सरकारले विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्ने उहाँले जोड दिनुभयो ।