जनता टाइम्स

१९ जेष्ठ २०७९, बिहीबार १५:५९

नेप्सेमा १८ अंकको गिरावट


काठमाडौं, १९ जेठ । नेपाली सेयर बजार नेप्सेमा निरन्तर गिरावट आइरहेको छ । आज पनि नेप्से परिसूचकमा १८।२६ अंकले गिरावट आएको छ । हिजो नेप्से परिसूचकमा ७.१९ अंकले गिरावट आएको थियो । बिहान बजार खुल्दा २१ सय ३० अंकबाट कारोबार सुरु भएको बजारको अन्तिममा २१ सय १२ मा बन्द भएको छ । घटेको बजारमा सेन्सेटिभ इन्डेक्स ३.८१ अंकले घटेर ४ सय १० अंकमा पुगेको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि नेप्से कारोबार रकममा भने बढेको छ । आज नौ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेमा आज ३५ लाख ६६ हजार आठ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा नेप्सेमा एक अर्ब १६ करोड १५ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

हिजो ३० लाख २० हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब सात करोड ८४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा आज दुई सय २७ कम्पनी सेयर कारोबार हुँदा एक सय ६८ कम्पनीका लगानीकर्ता गुमाएका छन् भने ४६ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् । यस्तै १२ कम्पनीको सेयर मूल्य हिजोकै मूल्यमा कारोबार भएको छ ।

सेयर बजारमा एक मात्र कम्पनी बाफेली हाइड्रो पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयरमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागेको कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १३.९ रुपैयाँले बढेर एक सय ५३.३ रुपैयाँ पुगेको छ । नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर मूल्यमा ३५.५ रुपैयाँले घटेर ३ सय २० रुपैयाँ पुगेको छ ।