काठमाडौं, जेठ २० । युवा स्वरोजगार कोषले पछिल्लो समय असल व्यवसायीहरूलाई ब्याज अनुदान दिने क्रम तीब्र पारेको छ । कोषले विहीबार भक्तपुर जिल्लाको सूर्यविनायकस्थित प्रकृति सहकारीसंस्थामा आवद्ध असल व्यवसायीहरूलाई करिब ३ लाख रूपैयाँ ब्याज अनुदान बाँड्को छ ।
कोषको तर्फबाट अनुसन्धान, कार्यक्रमप्रवर्द्धन तथा सूचना प्रविधि शाखाप्रमुख नारायणदत्त देवकोटाले उक्त रकम दिनुभएको हो । कोषसँग थोककर्जा सम्झौता गरी प्रकृति सहकारीले लगानी गरेकामध्ये १७ जना असल व्यवसायीहरूलाई २ लाख ७२ हजार रूपैयाँ एक कार्यक्रमको बीच वितरण भएको हो । कार्यक्रममा सूर्यविनायक नगरपालिका २ नम्बर वडाका सदस्य, सहकारीका अध्यक्ष तथा व्यवस्थापक र कोषका लागि जिल्ला प्रतिनिधित्व गर्ने कर्जा असूली सहजकर्ता रोजीना बस्नेतलगायतको उपस्थिति थियो ।
केहीदिनअघि पनि कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले एक कार्यक्रमबीच काठमाण्डौको तारकेश्वरमा रहेका काभ्रेस्थली कृषि र युवक कृषि सहकारीका सदस्यलाई कोषले ५ लाख ३ हजार रुपैयाँ ब्याजअनुदान वितरण गर्नुभएको थियो । पछिल्लो समय ब्याजअनुदान वितरणलाई तीब्रता दिएको कोषले चालूवर्षको जेठसम्ममा १ करोड ६ लाखभन्दा धेरै रूपैयाँ ब्याजअनुदान वापत वितरण गरेको छ । कोषले मुलुभरका करिब २३ शय वित्तीय संस्थामार्फत करिब ११ अर्ब २३ करोड रुपैयाँ लगानी गरेको छ ।
वित्तीय संस्थामार्फत् लगेको कर्जा नियमितरूपमा साँवाब्याज तिर्नेलाई असल व्यवसायी को मान्दछ । कोषले असल व्यवसायीलाई ब्याजको ६० प्रतिशत फिर्ता गर्ने प्रावधान राखेको छ ।कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले असल व्यवसायीलाई ब्याजअनुदान दिने नीति अख्तियार गर्दै आएको बताउनु भयो ।
‘उद्यमशीलता विकास गर्न सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्दै आएका छौं,’ अधिकारीले भन्नुभयो, ‘समय तालिका अनुसार कर्जा तिर्ने असलव्यवसायीलाई ब्याजको ६० प्रतिशत अनुदानको रूपमा फिर्ता गर्ने नीति कोषले अख्तियार गर्दैआएको छ ।’
कोषले मुलुकभरका विभिन्न जिल्लास्थित सहकारी तथा वित्तीयसंस्थामार्फत ९ अर्ब कर्जा प्रवाह गरी करिब ९८ हजार रोजगारी सृजना गरेको दाबी गरेको छ । कोषले वित्तीयसंस्थालाई ३.२ प्रतिशत ब्याजमा कर्जा दिएर उद्यमशीलता विकास गर्न सघाउँदै आएको छ । त्यस्तै युवा उद्यमीलाई इन्स्योरेन्सको प्रिमियम वापतको शुल्कसमेत आफैं भुक्तानी दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्