चितवन, २० जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताउनुभएको छ । सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि उहाँले बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले सो कुरा बताउनुभएको हो ।
केही दिनअघि प्रचण्डले एक सार्वजनिक कार्यक्रममा कांग्रेसले पनि दम्भ र अहंकार बोके एमालेलाई जसरी ठेगान लगाइदिने चेतावनी दिनुभएको थियो । प्रचण्डको सोही कुरालाई थर्काएको भनेर बुझ्न नमिल्ने उहाँले बताउनुभयो । ‘उहाँ (प्रचण्ड)ले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा त्यो भन्नुभयो होला ।
त्यसलाई ज्यादा महत्व दिनुपर्छ भन्ने म ठान्दिनँ’, उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस कहिल्यै पनि अहंकारको बाटोमा छैन । यस विषयमा उहाँले आशंका गर्नुपर्ने पनि छैन ।’ कांग्रेसले वास्तविकताको धरातलमा उभिएर राजनीति गर्ने उहाँले बताउनुभयो । कांग्रेसको नेतृत्व एमालेको नेतृत्व जस्तो अहंकारको बाटोमा हिँड्छ कि भनेर आशंका गर्न जरुरी नभएको भन्दै उहाँले कांग्रेस सभापति आफू नै सर्वेसर्वा भनेर नहिँडेको बताउनुभयो ।
जिससको निर्वाचनमा पनि गठबन्धनका दलहरूबीच सहकार्य गर्ने सहमति भएको भन्दै उहाँले त्यसमा सबै दल प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । केही ठाउँमा अपवादबाहेक स्थानीय तहको निर्वाचनको परिणाम सकारात्मक आएको उहाँले बताउनुभयो । पाँच दलीय गठबन्धनको सफल परीक्षण भएको भन्दै उहाँले आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धनका दलबीच सहकार्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्