जनता टाइम्स

२० जेष्ठ २०७९, शुक्रबार १५:०३

अर्थमन्त्रीको बिषयमा संसदमा सभामुख र एमाले सांसदबीच रोचक जुहारी


काठमाडौं, जेठ २० । नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले नेपालका अर्थमन्त्री जनार्दन शर्मा हुन् वा जनार्दन शर्मा प्रभाकर हुन् भनी प्रश्न उठाउनु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री नियुक्त गर्दा जनार्दन शर्मालाई नियुक्त गरेको तर बजेट पेश गर्दा जनार्दन शर्मा प्रभाकरले पेश गरेको भन्दै एमाले सांसद पोखरेलले प्रतिनिधिसभा नियमावलीको नियम २६ बमोजिम नियमापत्ती गर्नुभएको हो ।

‘प्रधानमन्त्रीले एउटा व्यक्ति नियुक्ति गर्ने बजेट अर्को व्यक्तिले प्रस्तुत गर्न मिल्छ र सम्माननीयज्यू ? इतिहासविदले भोलि अध्ययन गर्दा के होला ? हामी कस्तो प्रणालीमा जाँदैछौं ?’ सांसद पोखरेलले भन्नुभयो ।

उहाँको प्रश्नलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मा नै भएको स्पष्ट पार्नुभयो । ‘मैले अनुमति दिने क्रममा माननीय अर्थमन्त्री श्री जनार्दन शर्मा भनेको छु, त्यही नै आधिकारिक औपचारिक र संस्थागत हो,’ सभामुख सापकोटाले भन्नुभयो ।