जनता टाइम्स

२१ जेष्ठ २०७९, शनिबार १८:१६

एनएमबि बैंक र वैकल्पिक ऊर्जाबीच नवीकरणीय उर्जा प्रवर्धन गर्ने सम्झौता


काठमाडौं, जेठ २१ । एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको केन्द्रीय नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि सम्झौता भएको छ। दुई संस्थाबीच मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवद्र्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रमअन्तर्गत कर्जा नोक्सानी सुरक्षणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यो कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो । यो सम्झौताको मुख्य विशेषता बैंकले उल्लेखित प्रदेशहरुमा नवीकरणीय ऊर्जाका परियोजनामा गरेको कर्जा लगानीको भुक्तानी नभएमा त्यस्ता कर्जामा कोषले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्ने एनएमबी बैंकले जनाएको छ। यसले बैंकलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तार गर्नको लागि सहयोग मिल्ने अपेक्षा लिएको छ।

यसले नवीकरणीय ऊर्जा क्षेत्रलाई मुल प्रवाहमा ल्याइ ऊर्जा र वित्तीय सेवामा पहुँच नपुगेको जनसंख्यामा नवीकरणीय ऊर्जाको प्रवद्र्धनको लागि प्रोत्साहित गर्नुको साथै सम्झौतापछि बैंकको हरित कर्जा अझ बढी लक्षित वर्गमा पुग्नेमा विश्वस्त रहेको एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीले बताउनु भयो।

बैंकले दिगो बैंकिङ्गमार्फत देशमा वास्तविक अर्थतन्त्रको प्रवद्र्धनका लागि साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखि विभिन्न कार्य गर्दै आएको जनाएको छ।

बैंकले स्वच्छ ऊर्जाको प्रवद्र्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दिगो तरीकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग गर्ने र भारतबाट बिजुली र जीवाषेश इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई साथ दिइरहेको जनाएको छ।

एनएमबि नवीकरणीय ऊर्जा क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्ने नेपालको अग्रणी बैंक हो । बैंकले जनवरी २०१८ देखि नै केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिंग बैंकको भूमिकामा समेत कार्य गर्दै आइरहेको छ । बैंकले देशैभरी रहेका २०१ शाखाहरु, १३८ एटिएमहरु, ११ एक्सटेन्सन काउन्टरहरुमार्फत बैकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।