जनता टाइम्स

२३ जेष्ठ २०७९, सोमबार १८:३१

घरको नक्सापास नगरे पानी र बिजुली बन्द गर्छौं : नगर प्रमुख यादव


सप्तरी, २३ जेठ । राजविराज नगरपालिकाका नगरप्रमुख भीमराज यादवले राजविराज नगरपालिकाको ४० प्रतिशत घरको नक्सा पास नभएकोले तत्काल नक्सापास गर्न जिल्लावासीलाई आग्रह गर्नुभएको छ । उहाँले नक्सा पास गर्न नगरमा कर्मचारी परिचालन गरिसकेको बताउनुभयो । जरिवाना छुट गरे पनि लाग्ने शुल्क छुट नहुने उहाँको भनाइ छ । ‘नक्सा पास गर्न मानेनन् भने पानी र बत्ती बन्द गर्छु ।

त्यसपछि कारबाही हुन्छ,’ उहाँले भन्नुभयो । राजविराज नगरपालिकाले सोमबार नगरपालिका कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधि र पत्रकारहरूसँगको परिचयात्मक तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । राजविराज नगरपालिका कार्यालयमा रहेको असुल हुने बेरुजु सम्बन्धित व्यक्तिलाई प्रशासनमार्फत थुन्न लगाएर भए पनि असुली गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले छोराछोरीसँग बस्न सक्ने अवस्था नरहेका, घरबाट निकालिएका आमाबाबुका लागि तत्काल वृद्धा आश्रम खोलेर सञ्चालनमा ल्याउने बताउनुभयो । विभेदमा परेको विकास हुन नसकेको राजविराज सहरलाई ६ महिनाभित्र गुलाफी सहर बनाउने र त्यसका लागि आफू कठोर बन्नुपर्ने उहाँले सुनाउनुभयो । प्रमुख यादवले घुस दिएर गलत काम गराउन खोज्ने र घुस लिएर गलत काम गर्नेलाई समातेर प्रशासनको जिम्मा लगाएर कारबाही दायरा ल्याउने बताउनुभयो ।

सरकारी कार्यालयहरूमा भइरहेको व्याप्त भ्रष्टाचार उन्मुलन गर्ने कार्यमा सधैँ अग्रसर रहने बताउनुभयो । राजविराजको विकास र यहाँका बेथिति न्यूनीकरणका लागि यहाँका पत्रकारहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । राजविराजका एकमात्र सरकारी अस्पताल गजेन्द्रनारायण अस्पताल, शैक्षिक क्षेत्र, मालपोत, नापी लगायतका सरकारी कार्यालयहरू माफिया गुन्डाहरूको अखडा बनेको तत्काल सुधा र गर्न लागि परेको जानकारी दिनुभयो ।

घरको काम, व्यक्तिगत व्यवसाय सञ्चालन गरेर सरकारी तलब भत्ता खाने छुट कसैले पाउने बताउनुभयो । सरकारी अस्पतालबाट सेवासुबिधा लिएर निजी अस्पतालमा समय बिताउने डाक्टर बिदा दिने बताउनुभयो । स्वास्थ्य, शिक्षा क्षेत्रको बेतिथि अन्त्य गरी चाँडै सुधार ल्याउने मेयर यादवको भनाई रहेको थियो । नगरपालिकाको फोहर व्यवस्थापन, छाडा पशुचौपाया नियन्त्रण, ३ महिना भित्र नगर बस सञ्चालन, असारमसान्त भित्र बसपार्क सञ्चालन, राजविराज हटिया ठेक्का लगाउने बताउँदै प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छाडा सुँगुरलाई घरमा राख्ने पूर्वाधार विकासको लागि नगरपालिकाले सहयोग गर्ने बताउँदै उहाँले त्यति गर्दा समेत सुँगुर छाडा छोडे पुरस्कार दिएर मार्न लगाउने बताउनुभयो । पहिलोपटक १ हजार लिएर छोड्ने, दोस्रो पटक २ हजार लिएर छाड्ने बताउनुभयो । तेस्रो पटक पनि समातियो भने छाडा गाई गोरुलगायतका चौपायालाई कोसी टापुमा लगेर छोडिने बताउनुभयो ।