जनता टाइम्स

२४ जेष्ठ २०७९, मंगलवार ०८:११

वन्यजन्तुपीडितको प्रदर्शनमा गोली प्रहार, एकको मृत्यु


बर्दिया, जेठ २४ । समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन माग गर्दै सडक अवरोध गरेर प्रदर्शनमा उत्रिएका सर्वसाधारण र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । सडक खुलाउन लाग्दा भएको झडपमा गोली लागेर घाइते मधुवन–२ की १८ वर्षीया नवीना चौधरीको मृत्यु भएको छ । काखीमुनि गोली लागेका राकेश चौधरीको उपचार भइरहेको छ ।एसपी वीरबहादुर शाहीका अनुसार स्थानीयको ढुंगामुढाबाट प्रहरीतर्फ ९ जना घाइते छन् । बर्दियाका वन्यजन्तुपीडितले सोमबार बिहानैदेखि सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका हुन् ।

साँझ ६ बजे ओराली बजारमा झडप भएको हो । समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएपछि स्थानीय बासिन्दा सडकमा उत्रिएका हुन् ।प्रहरीले सडकमा प्रदर्शन नगर्न आग्रह गरे पनि प्रदर्शनकारी सोमबार बिहानैदेखि सडकमा मोर्चा कसेर बसेका थिए । वनका प्रमुख र प्रमुख जिल्ला अधिकारीले प्रतिबद्धता नजनाएसम्म सडक जाम नखोल्ने भन्दै उनीहरूले प्रदर्शन गरिरहेका थिए ।

भीड नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार, १० राउन्ड अश्रुग्यासका साथै गोली चलाएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताउनुभयो  । प्रदर्शनकारीले ढुंगा हान्न नरोकेपछि प्रहरी गोली चलाउन बाध्य भएको उहाले बताउनुभयो । स्थानीयवासी खगेन्द्रबहादुर शाहीले भने शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले एक्कासि निर्मम आक्रमण गरेको दाबी गर्नुभयो। प्रहरीको लाठी र अश्रुग्यासबाट दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएको उहाँले जानकारी दिनुभयो । शाहीले समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन पटक–पटक आग्रह गरेको दुई साता बितिसक्दा पनि वास्ता नगरेकाले बाध्य भई सडकमा उत्रिनुपरेको गुनासो गर्नुभयो ।

 

बताएका छन् ।