जनता टाइम्स

२४ जेष्ठ २०७९, मंगलवार १०:१०

फेसबुके प्रेमीलाई बिश्वास गर्दा


बाँके, जेठ २४ । बाँकेको राप्तीसोनारी गाउँपालिका ४ की एक १६ वर्षीया बालिकालाई योजनाबद्धरुपमा बाँके र बर्दियामा दुई ठाउँमा सामूहिक बलात्कार भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार फेसबुके प्रेमीले जन्मदिन मनाउने भन्दै बोलाएर एउटी बालिकालाई शनिबार राति बर्दियाको सामुदायिक वनमा र आइतबार बिहान बाँकेमा बंगुर फर्ममा गरी दुई दिन सामूहिक बलात्कार गरेका हुन।

प्रहरीका अनुसार घटनामा संलग्न सबै अभियुक्तहरु एउटै गाउँ बैजनाथ गाउँपालिकाको वडा नं ८ निवासी हुन । पक्राउ पर्नेमा २० वर्षको विश्वनाथ थारु, २३ वर्षको राजकुमार थारु, २४ वर्षको विक्रम भन्ने विक्रान्त थारु, २५ वर्षको निराजन थारुका साथै १६ वर्षको एक जना र १७ वर्षका २ जना बालक रहेका छन्। अभियुक्तमध्ये ३ जना त बालक नै छन्।

घटनाबारे अनुसन्धान गरिरहनुभएका इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिका–४ की एक १६ वर्षीया बालिका र बैजनाथ गाउँपालिकाको ८ का हेमराज थारुसँग एक वर्षदेखि फेसबुके प्रेम थियो। उनीहरु भिडियो कल गरिरहन्थे। गत शनिबार (२१ जेठ) आफ्नो जन्मदिन मनाउन भन्दै थारुले बालिकालाई मानखोलाको पुलमा बोलाए खजुरा गाउँपालिका–६ मानखोला पुलमा दिउँसोको ४ बजेतिर उनीहरुको भेट भयो। हेमराजले बढैयाताल घुम्न जाने योजना सुनाए। उनले साथी विक्रम भन्ने विक्रान्त थारुलाई मोटरसाइकल लिएर आउन भने।

मानखोला वारी बाँकेका खजुरा गाउँपालिका र पारी बर्दियाको बढैयाताल गाउँपालिका पर्छ। मानखोला पारी बढैयाताल–५ मा फुलवारी सामुदायिक वन छ। मोटरसाइकलमा बढैयाताल घुमाउने भन्दै मानखोलाको पुलदेखि तीन चार किलोमिटर उत्तरमा वनभित्रमा लगे। राजकुमार थारु, निराजन थारुसहित तीन जना मानखोला तरेर त्यहाँ आइपुगे। उनीहरुले घरेलु मदिरा, वियर र दालमोट मगाए। बालिकालाई पनि खान बाध्य बनाए।

नसाले लठ्ठ भएपछि साँझ ६ बजेदेखि मध्यराति १२ बजेसम्म हेमराज, राजकुमार, निराजन र एक नाबालकलगायत चार जनाले लगातार पालैपालो सामूहिक बलात्कार गरे। जबरजस्ती करणीबाट बालिका बेहोस भइन। त्यसपछि उनीहरु आत्तिए। मानखोलाको किनारमा लगेर पानी छम्किए। बालिका होसमा आइन। होसमा आएपछि बोकेर बैजनाथ–८ पिपरीमा विक्रम भन्ने विक्रान्त थारुको बंगुरपालन नजिक टिनको टहरामा लगे। त्यहाँ फेरि निराजन र विक्रान्तले पालैपालो तीन घण्टाभन्दा बढी समय बलात्कार गरे ।

निराजन वनमा बलात्कार कार्यमा पनि संलग्न थिए। बिहान ३ः४५ बजेतिर विक्रान्तले विश्वनाथ थारु र अर्को एक जनालाई डाकेर मोटरसाइकलमा राखेर बालिकालाई राप्तीसोनारीको घरसम्म पुर्याउने जिम्मा दिए। २२ जेठको बिहान ४ बजेतिर खजुरा गाउँपालिका–५ प्रतिक्षालय चोकमा इलाका प्रहरी कार्यालय धनौलीले नियमित चेकजाँच भइरहेको थियो।

२० वर्षका विश्वनाथ थारुले चलाएको भे ३ प ३५२७ नं को पल्सर मोटरसाइकलमा १७ वर्षका युवक र पीडित बालिका गरी तीन जनालाई सवार देखिपछि प्रहरीले चेकजाँच गर्छ। त्यत्तिबेलासम्म बालिका अर्धचेत अवस्थामा थिइन्। प्रहरीलाई शंका लाग्छ। इप्रकामा लगेर चिया बिस्कुट खुवाएपछि बालिकाले आफू सामूहिक बलात्कार भएको बताउँछिन्। पीडित बालिकाले दिएको किटानी जाहेरीको आधारमा मोटरसाइकल बोकेर घर लैजाने दुई जना मतियारसहित ५ जना अभियुक्तहरुलाई प्रहरीले आइतबार नै विभिन्न स्थानबाट पक्राउ गरेको छ।