जनता टाइम्स

२६ जेष्ठ २०७९, बिहीबार २०:३२

सशस्त्रले भत्कायो मध्यराती दशगजा नजिकै भारतीयले खनेको कुलो


महोत्तरी, जेठ २६ । सशस्त्र प्रहरीले मध्यराती भारतीयले दशगजा क्षेत्रमा खनेको कुलो भत्काइ दिएको छ । महोत्तरीको जलेश्वरस्थित नेपाल–भारत सीमा क्षेत्र नजिकै भारतीय पक्षले स्काभेटर प्रयोग गरी कुलो/नहर खनेर पानीको बहाव नेपालतर्फ फर्काउने प्रयास गरेका हुन ।

मंगलबार मध्यराति नेपाल–भारत सीमावर्ती क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका ३, खैरागाउँबाट दक्षिणतर्फ भारतको सितामढी जिल्लाको श्रीखण्डी ग्राम पञ्चायत–४ का स्थानीयले पानीको बहाव नेपालतर्फ फर्काउन स्काभेटरले खनेको कुलो सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीको टोलीले भत्काएर पुरानै अवस्थामा कायम गरेको हो ।

भारतले कुलो खनेको स्थान नेपाल–भारत सहायक सीमा स्तम्भ ३००/६ (४) नम्बरबाट ३ मिटरभित्र पर्छ । भारतीयले खनेको कुलो कायम रहने हो भने त्यहाँबाट पानी एकत्रित भई नेपालतर्फै फर्किन्छ तर सशस्त्रले कुलोको स्थान पुरेपछि पानीको बहाव छेकिएर नेपालतर्फै फर्किने सम्भावना अहिलेलाई टरेको छ ।

नेपालतर्फ पानीको बहाव फर्काउन एकतर्फी कुलो/नहर खन्ने केही भारतीयलाई स्काभेटरसहित नियन्त्रणमा लिई सचेत गराएर भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको छ । मध्यरातमा भारतीयले स्काभेटर प्रयोग गरी कुलो खन्न थालेको सूचना पाएपछि नेपालतर्फको खैरागाउँका स्थानीयले सशस्त्र प्रहरीलाई खबर गरेका थिए ।

त्यसको केहीबेरमा जलेश्वरस्थित बोर्डर आउट पोस्ट (बीओपी)बाट खटिएको सशस्त्रको टोलीले स्काभेटरसहित केही भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि नजिकै भिट्टामोडमा रहेको भारतीय सशस्त्र सीमा बल (एसएस)सँग समन्वय गरेर सशस्त्रले नियन्त्रणमा लिइएका व्यक्तिलाई माफी मगाएर जिम्मा लगाएको थियो ।