काठमाडौं, असाेज १८। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कांग्रेसको १५ औँ महाधिवेशनबाट पार्टीलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्ने बताउनुभएको छ।
आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले राष्ट्र र जनतालाई राजनीतिको केन्द्रमा राखेर कांग्रेस नयाँ चरणमा प्रवेश गर्ने बताउनुभएको हो। उहाँले कांग्रेसलाई नयाँ ऊर्जा र सोचसहित अघि बढाउँदै नेतृत्वमा पुस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँ। नेपाली राजनीतिलाई नयाँ चरणमा लैजान्छौँ,’ उहाँले भन्नुभयो।
महामन्त्री घिमिरेले मुलुकलाई सुस्पष्ट राजनीतिक दिशा दिन महाधिवेशनबाट नयाँ नीति र कार्यक्रम अघि सारिने बताउनुभयो। बदलिँदो राजनीतिक, सामाजिक तथा आर्थिक परिस्थितिअनुसार कांग्रेसलाई नयाँ ढंगले अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।
उहाँले बीपी कोइरालाको सपना साकार पार्दै देश र जनतालाई समुन्नत, खुसी तथा समृद्ध बनाउने र राष्ट्रको प्रतिष्ठा बढाउने उद्देश्यका साथ कांग्रेस अघि बढ्ने बताउनुभयो। ‘बीपी कोइरालाको सपना सार्थक बनाउनु छ। देश र जनतालाई समुन्नत, खुसी र समृद्ध बनाउन, राष्ट्रको प्रतिष्ठा बढाउन कांग्रेस चाहन्छ,’ उहाँले भन्नुभयो।












प्रतिक्रिया दिनुहोस्