जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार १३:४६

जर्मनी दूतावासका प्रथम सचिवको अर्को कर्तुत बाहिरियो : दूतावासबाटै गरिदिए बहिनी कञ्चनको स्वास्थ्य बीमा


जर्मनी, असोज १८ । एकैपटक ४२ दिनको हाजिरी गरेको आरोप लागेका जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवमाथि अनियमितताको आरोप सेलाउन नपाउँदै स्वास्थ्य बीमा विवरणमा बहिनीको नाम समावेश भएको कागजात फेला परेको छ।

विद्यार्थी भिसामा जर्मनी आएको भनिएकी यादवकी बहिनी कञ्चन यादवको स्वास्थ्य बीमाबापतको रकम नेपाली दूतावासबाट भुक्तानी दिने अभिलेखको प्रमाण जनताटाइम्स डटकमले प्राप्त गरेको छ ।

प्राप्त अभिलेखअनुसार दूतावासले भुक्तानी गर्ने एलायन्ज केयरको स्वास्थ्य बीमाकहरुको नामको समूहमा कञ्चन यादवको नाम समावेश छ । जसमा उहाँको पोलिसी नम्बर पी००५२९८२३८ उल्लेख छ।

प्रथम सचिव यादवले आफ्नी बहिनीलाई एटेन्डेन्ट भिसामा ल्याउन चाहनुभएको थियो । तर नेपालस्थित जर्मनी दूतावासले भिसा नदिएपछि विद्यार्थी भिसामा जर्मनी ल्याएको दूतावास स्रोत बताउँछ । स्रोतले भन्यो, ‘यादवजीले बहिनीलाई कुन भिसामा यहाँ ल्याउनु भएको हो थाहा छैन। एटेन्डेन्टमा हो भने त दूतावासमा भिसाबारे जानकारी गराउनु पर्ने हो।’

यादवकी बहिनीको बिषयमा दूतावासका कार्यवाहक राजदूत नारायणप्रसाद वाग्लेलाई प्रथम सचिव यादवको बहिनी कञ्चनको एटेन्डेन्ट भिसा र स्वास्थ्य बीमाबारे जनताटाइम्स प्रतिनिधिले जिज्ञासा राखेको थियो। तर वाग्ले सम्पर्कमा आउन चाहनुभएन ।

बहिनी दूतावासकै क्वाटरमा

राष्ट्रलाई आर्थिक बोझ बनाउने गरी कुनै पनि कार्य गर्ने सरकारी कर्मचारीलाई कारबाही हुने व्यवस्था छ। तर आफूलाई प्रधानमन्त्री बालेन शाह तथा परराष्ट्रमन्त्री शिशिर खनालको निजी सचिव रहेका मन्त्रालयका उपसचिव मधुसूदन भट्टराई र मन्त्रालयका सामान्य प्रशासन प्रमुख सुरेन्द्र कुमार यादवको नजिकको मान्छे भन्ने प्रथम सचिव यादवलाई लागू हुन्न । यादवले जर्मनी आए देखिनै बहिनीलाई नेपाल सरकारले आफूलाई दिएको सरकारी क्वाटरमै राख्नुभएको छ ।

यस विषयमा पनि कार्यवाहक राजदूत नारायणप्रसाद वाग्ले बोल्न चाहनुभएन । वाग्ले यादवले एकै पटक ४२ दिन हाजिरी गरेको विषयमा पनि आफू आउनु भन्दा पहिलको विषय भन्दै पन्छिनुभएको थियो ।

’दूतावासले उपलब्ध गराउने वा सरकारी खर्चमा व्यवस्था गरिएको आवास केवल सम्बन्धित कर्मचारी र उनको नजिकको आश्रित परिवार (पति/पत्नी, छोराछोरी र साथमा रहेका आश्रित आमाबुबा) का लागि मात्र हो,’ परराष्ट्र मन्त्रालयका एक अधिकृत भन्छन, ‘अन्य नातेदार वा साथीभाइलाई लामो समयसम्म सरकारी आवासमा राख्नु वा आवासको दुरूपयोग गर्नु नियम विपरीत मानिन्छ । यस्तो पाइएमा आवास सुविधा रोक्का हुने, क्वार्टर खाली गर्नुपर्ने वा कर्मचारीमाथि विभागीय कारबाही हुन सक्छ ।’

यसअघि प्रथम सचिव यादवले एकैदिन ४२ दिनको हाजिरी गरेको सम्बन्धम उहाँमाथि छानबिन र कारबाहीको मागसहित राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ।

यादवलाई पोल्याण्डका एक नेपाली व्यावसायीलाई दूतावासका पत्रहरू दिएको तथा दूतावासको आधिकारिक फेसबुक पेजका सूचना तोडमोड गरेको आरोप समेत छ । साथै, आफ्नोबारे समाचार लेख्नुभयो भने तपाईंलाई गाह्रो पर्छ, ब्याक फायर गर्छु,’ भनेर पत्रकारलाई धम्की दिँदै थर्काउनु भएको थियो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र युरोप शाखाले विज्ञप्तिमार्फत नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायसँग यादवको रबैयाको तत्काल निष्पक्ष छानबिनको माग गर्दै विदेशमा रहेर पत्रकारिता गरिरहेका पत्रकारको सुरक्षाको माग गरेका थिए ।