जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार १४:५३

जनमत पार्टीको अध्यक्षमा पुनः डा. सीके राउत निर्वाचित, यी हुन् अन्य निर्वाचित पदाधिकारी र सदस्यहरु


काठमाडौं, असोज १८ । जनमत पार्टीको अध्यक्षमा पुनः डा. सीके राउत निर्वाचित हुनुभएको छ।

वीरगञ्जमा सम्पन्न पार्टीको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा डा. राउतले ९५८ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।

महाधिवेशनमा २६ पदाधिकारीसहित ९९ जना उम्मेदवारका लागि मतदान भएको थियो। अध्यक्ष पदमा डा. राउतको मात्र उम्मेदवारी परेको भए पनि पार्टीको विधानअनुसार अध्यक्ष पदका उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले उहाँको पक्षमा समेत मतदान भएको थियो।

निर्वाचनबाट पार्टीको उपाध्यक्ष पदमा अनिताकुमारी मण्डल (सिरहा), अनितादेवी साह (धनुषा), नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु), बसन्तकुमार कुशवाहा (रौतहट), डा. जयकान्त राउत (सप्तरी), राजयकुमार यादव (सिरहा) र माधवप्रसाद सिंह (पर्सा) निर्वाचित हुनुभएको छ।

उपाध्यक्ष पदका लागि ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरा देवी बैठा र रोशन खातुन भने पराजित हुनुभएको छ।

महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिलाई अघि बढाउने अपेक्षा गरिएको छ।