काठमाडौं, असाेज १८। नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५ औँ महाधिवेशन पार्टीको वर्तमान अवस्था र भविष्यबारे गम्भीर छलफल, संवाद तथा आत्मसमीक्षा गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभएको छ।
आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति भुसालले लामो समयदेखि लोकतन्त्रका लागि संघर्ष गर्दै आएको कांग्रेसले आफ्नो वर्तमान अवस्थाको समीक्षा गर्दै आगामी दिनको राजनीतिक बाटो तय गर्नुपर्ने बताउनुभएको हो।
उहाँले २००४ सालदेखि लोकतन्त्रका लागि संघर्ष गर्दै इतिहास निर्माण गरेको कांग्रेसको वर्तमान र भविष्यबारे चिन्ता, छलफल तथा संवाद गर्ने थलोका रूपमा १५औँ महाधिवेशनलाई लिनुपर्ने धारणा राख्नुभयो। ‘२००४ सालदेखि लोकतन्त्रका लागि संघर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको वर्तमान र भविष्यको चिन्ता गर्ने, संवाद गर्ने थलोको रूपमा यो महाधिवेशन हुन गइरहेको छ,’ उहाँले भन्नुभयो।
उपसभापति भुसालले महाधिवेशनलाई केवल पद व्यवस्थापन र नेतृत्व चयनको प्रक्रियाका रूपमा मात्र बुझ्न नहुने बताउनुभयो। कांग्रेसका नेता तथा कार्यकर्तासँगै लोकतन्त्र र कांग्रेसप्रति विश्वास राख्ने सबैले पार्टीको वर्तमान अवस्थाबारे आत्मसमीक्षा गर्ने अवसरका रूपमा महाधिवेशनलाई लिनुपर्ने उहाँको भनाइ छ। ‘यो महाधिवेशन पद व्यवस्थापन गर्नका लागि मात्र भइराखेको छैन। यो महाधिवेशन कांग्रेसका नेता र कार्यकर्ता मात्रै होइन, लोकतन्त्रमा र कांग्रेसमा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलो बन्नुपर्छ,’ उहाँले भन्नुभयो।
उहाँले महाधिवेशनबाट कांग्रेसको वर्तमान अवस्थाको समीक्षा गर्दै पार्टीलाई आगामी दिनमा थप सुदृढ, लोकतान्त्रिक र जनमुखी बनाउने दिशामा गम्भीर बहस तथा संवाद आवश्यक रहेको बताउनुभयो।












प्रतिक्रिया दिनुहोस्