जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार २०:०१

राजनीति पदका लागि नभई देश र समाजको जिम्मेवारीका लागि गरिन्छ : विद्या भण्डारी


काठमाडौं, असोज १८ । नेकपा (एमाले)की वरिष्ठ नेत्री विद्यादेवी भण्डारीले राजनीति पद प्राप्त गर्ने माध्यम नभई समाज र राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्ने बताउनुभएको छ।

काठमाडौंमा आइतबार आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘जीवनी विचार संघर्ष र नेतृत्व’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले नयाँ पुस्तामा राजनीति र सार्वजनिक जीवनप्रति चासोसँगै प्रश्न र असन्तुष्टि पनि देखिएको बताउनुभयो।

उहाँले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच संवाद र उचित संयोजन आवश्यक रहेको बताउनुभयो। यस्तो संयोजनबाट राजनीतिक तथा सामाजिक जीवनलाई थप गतिशील र समावेशी बनाउन सकिने उहाँको भनाइ छ।

भण्डारीले नयाँ पुस्ताले विगतका राजनीतिक संघर्ष र परिवर्तनका प्रक्रियालाई प्रत्यक्ष रूपमा अनुभव गर्न नपाएको भन्दै त्यसबारे ज्ञान हस्तान्तरण गर्न थप पुस्तक लेखिनुपर्ने बताउनुभयो।

‘राजनीति केवल पद प्राप्त गर्ने माध्यम होइन, समाज र राष्ट्रप्रतिको जिम्मेवारी पनि हो भन्ने कुरा सार्वजनिक जीवनमा सक्रिय व्यक्तिका अनुभव र यात्राबाट बुझ्न सकिन्छ,’ उहाँले भन्नुभयो।

उहाँले राजनीतिक इतिहासलाई मानिसका अनुभव, संघर्ष र निर्णयसँग जोडेर बुझ्न पोखरेलद्वारा लिखित पुस्तक महत्त्वपूर्ण हुने बताउनुभयो।