काठमाडौं, असोज १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार आन्दोलनबाट नभई निर्वाचनबाट परिवर्तन गर्नुपर्ने बताउनुभएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको मूल्य–मान्यताप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउँदै सरकार ढाल्ने नाममा आन्दोलनको बाटो रोज्न नहुने धारणा राख्नुभएको हो।
सभापति लामिछानेले सरकार ढल्ने चर्चा पटकपटक गर्नेहरूप्रति व्यंग्य गर्दै सरकार ढल्छ भन्ने धारणा राख्ने व्यक्ति नै ढल्न सक्ने टिप्पणी गर्नुभयो। ‘सरकार ढल्छ, अहिले ढल्छ, दशैंमा ढल्छ, तिहारमा ढल्छ भनेको सुन्छु, ढल्न चाहिँ ढल्छ, तर पटकपटक सरकार ढल्छ भनिरहने मान्छे चाहिँ आफैँ ढल्छ, सरकार नढलेको देखेर ऊ आफैँ ढल्छ’, लामिछानेले भन्नुभयाे ।
उहाँले आन्दोलनबाट सरकार परिवर्तन गर्ने दिशामा नलाग्न आग्रह गर्दै आगामी दिनमा सरकार परिवर्तनको आधार निर्वाचनलाई मात्र बनाउनुपर्ने बताउनुभयो। ‘आन्दोलनले सरकार ढाल्छौँ, आँधीबेहरीको कुरा पनि सुनिरहेको छु, आन्दोलनबाट सरकार ढाल्नेतिर अब नलागौँ, अब चुनावबाट मात्रै सरकार फेरौँ, चुनावले सरकार फेराउँछ’, उहाँले भन्नुभयाे ।
लामिछानेले लोकतन्त्रमा कुनै खतरा नरहेको दाबी गर्दै लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी कुनै एउटा दलले मात्र लिएको जस्तो गरी प्रस्तुत हुन नहुने बताउनुभयो। लोकतन्त्रमा खतरा उत्पन्न भए जनताले नै त्यसको रक्षा गर्ने उहाँको भनाइ थियो। ‘लोकतन्त्रको रक्षा हामीले नै गर्छौँ भनेर पुरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्, लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्, जनताले जोगाउँछन्’, उहाँकाे भनाइ छ ।
उहाँले लोकतन्त्रलाई निर्वाचनको अभ्यासबाटै बलियो बनाउन सकिने बताउँदै जनताले मतदानमार्फत दिएको जनादेशको सम्मान गर्न आग्रह गर्नुभयो। रास्वपाले पाएको जनमतलाई विदेशी हस्तक्षेप वा सेनाको प्रभावसँग जोडेर कमजोर बनाउने प्रयास नगर्न पनि उहाँले आग्रह गर्नुभयो। ‘रास्वपाले पाएको अपार जनमतलाई विदेशीले बनाएको, सेनाले भोट प्रभावित गरेको भन्दै यो जनमतलाई कमजोर पार्ने काम नगर्नुहोला, जनमत र लोकतन्त्रको हुर्मत लिने काम नगर्नुहोला’, लामिछानेले भन्नुभयाे ।
लामिछानेले पार्टी र सरकार सञ्चालनका विषयमा पनि आफ्नो धारणा राख्नुभयो। उहाँका अनुसार पार्टीको गतिविधि र काम सभापतिले तथा सरकारको काम प्रधानमन्त्रीले हेर्ने गरी जिम्मेवारी बाँडिएको छ। त्यसैले पार्टी बैठकमा प्रधानमन्त्री उपस्थित नभएको विषयलाई अस्वाभाविक रूपमा अतिरञ्जित नगर्न उहाँले आग्रह गर्नुभयो। ‘पार्टीको गतिविधि, काम सभापतिले हेर्ने, सरकारको काम प्रधानमन्त्रीले हेर्ने भनेर हामीले काम बाँडेका छौँ, त्यसकारण पार्टीको बैठकमा प्रधानमन्त्री नआउने कुरालाई अस्वाभाविक रूपमा अतिरञ्जित नगरिदिन आग्रह गर्दछु’, उहाँले भन्नुभयाे ।
उहाँले सरकारका कुनै निर्णय गलत भए सच्याउन सकिने बताउँदै राजनीतिक स्वार्थका लागि विभिन्न निकायमाथि दोषारोपण गर्नुभन्दा जनताबीच जानु उपयुक्त हुने धारणा राख्नुभयो। ‘हामीले आफ्नो राजनीतिक स्वार्थका लागि विभिन्न निकायलाई दोष लगाउनु हुँदैन, कुनै पनि किसिमको तानाबाना बुन्नुभन्दा जनताको बीचमा जानु राम्रो हुन्छ’, लामिछानेले भन्नुभयाे ।
लामिछानेले रास्वपा लोकतन्त्रका मूल्य–मान्यताबाट पछि नहट्ने बताउँदै आगामी पाँच वर्ष पार्टीले काम गर्न नसके जनताले त्यसको मूल्यांकन गर्ने उल्लेख गर्नुभयो। ‘यो पाँच वर्ष रास्वपाले काम गर्न सकेन भने सबैभन्दा पहिला रास्वपाको सदस्यता च्यात्नुहोला’, उहाँकाे भनाइ थियाे ।
कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा लामिछानेले आफू कांग्रेस हुन सक्ने अवस्थाबारे पनि व्यंग्यात्मक टिप्पणी गर्नुभयो। कांग्रेसले अवसर पाएकालाई टिकट र समानुपातिकतर्फ प्राथमिकता नदिएको भए आफू पनि कांग्रेस हुन सक्ने उहाँको भनाइ थियो। ‘म पनि कांग्रेस हुन्थें होला, यदि कांग्रेसले सबैभन्दा अगाडि र सबैभन्दा अवसर पाएकालाई टिकट वितरण र समानुपातिकमा प्राथमिकता नदिएको भए’, उहाँले भन्नुभयाे ।
त्यस्तै, कांग्रेसले आफ्नै चुनाव चिह्न छाडेर अन्य दलको चुनाव चिह्नमा मतदान गर्न निर्देशन नदिएको भए आफू कांग्रेस हुन सक्ने उहाँले बताउनुभयो।
लामिछानेले पार्टीभित्र निरन्तर असन्तुष्टि व्यक्त गर्ने र नेतृत्वलाई दबाबमा राख्ने छाडेर अघि बढ्नु पर्ने पनि बताउनुभयाे। ‘कहिलेकाहीँ पार्टीभित्र सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदै सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छाडिदिएकै राम्रो हुन्छ कहिलेकाहीँ, यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुन लगाएको छु, मान्ने नमान्ने तपाईंको जिम्मा’, उहाँले भन्नुभयाे ।
लामिछानेले व्यक्ति बचाउने वा कसैलाई फसाउने नाममा लोकतान्त्रिक संस्थालाई कमजोर पार्ने काम गर्न नहुने पनि बताउनुभयो। उहाँले लोकतान्त्रिक विधि र निर्वाचनको प्रक्रियामार्फत नै राजनीतिक परिवर्तन र जनमतको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो। ‘व्यक्ति बचाउन लाेकतन्त्र कमजाेर बनाउने काम नगर्नुहाेला र व्यक्ति फसाउन पनि लाेकतन्त्रलाई कमजाेर नबनाउनु हाेला’, उहाँले भन्नुभयाे ।












प्रतिक्रिया दिनुहोस्