जनता टाइम्स

२८ जेष्ठ २०७९, शनिबार २१:५९

प्रसारण लाइनमा व्यक्ति चढ्दा विद्युत् प्राधिकरणको १ करोड रुपैयाँभन्दा धेरै नोक्सानी


काठमाडौं, २८ गते ।नुवाकोटको ककनी गाउँपालिकामा विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेका एक व्यक्तिका कारण विद्युत् प्राधिकरणलाई एक करोड रुपैयाँभन्दा धेरै नोक्सानी भएको छ ।मानसिक सन्तुलन गुमाएका व्यक्ति तारमा पुगेपछि उनको सुरक्षाको लागि प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए र ५ मेगावाटको अर्को आयोजनाको उत्पादन बन्द गरेको थियो।

बिहान ११ बजेदेखि बेलुका झन्डै ८ बजेसम्म उत्पादन बन्द हुँदा प्राधिकरणको एक करोड रुपैयाँभन्दा धेरै नोक्सानी भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो ।‘हाम्रो अहिले देखिएको नोक्सानी एक करोड रुपैयाँभन्दा धेरै देखिएको छ, यसबाट भएका अरु नोक्सानीको त कुरै छाडौँ ’ प्रवक्ता भट्टराईले भन्नुभयो । दिनभर ६५ मेगावाट बिजुलीको उत्पादन बन्द भएपछि प्राधिकरणलाई माग धान्न मुस्किल परेको थियो । केही ठाउँमा लोडसेडिङ भएको थियो भने भारतबाट समेत आयात बढाइएको थियो ।