जनता टाइम्स

२९ जेष्ठ २०७९, आईतवार १५:४५

लगानीयोग्य रकमको चरम संकट समाधान हुनेगरी मौद्रिक नीति आउने अर्थमन्त्रीको दाबी


काठमाडौं, २९ जेठ । अर्थमन्त्री जनार्दन शर्माले हाल बैंकिङ प्रणालीमा देखिएको तरलता (लगानीयोग्य रकम) को चरम संकट समाधान हुने गरी मौद्रिक नीति आउने दाबी गर्नुभएको छ । आइएमई लिमीटेडको २२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा निजी क्षेत्रका प्रतिनिधिले तरलता सहज नभएको गुनासो गरेपछि त्यसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘तरलता सहज हुने गरी हामीले सकेजति नीतिगत कुराहरुलाई बजेटमा समेटेका छौं । अब बजेटले लिएको लक्ष्य पूरा हुने गरी राष्ट्र बैंकले मौद्रिक नीति बनाउँछ भन्ने लागेको छ ।’ उहाँले थप्नुभयो,‘हामीले बनाएका नीतिगत कुरा सम्बोधन हुने गरी राष्ट्रबैंकले अबको मौद्रिक नीति ल्याउनुपर्नेछ । यहाँ राष्ट्रबैंकका प्रतिनिधि पनि हुनुहुन्छ, व्यवसायीले भनेका कुरा उहाँले सुन्नुभएकै छ ।’

मन्त्री शर्माले सम्भव भएसम्म सबै कुराहरुमा सुधार गरी मौद्रिक नीति बनाउन राष्ट्र बैंकलाई मञ्चबाटै निर्देशन दिनुभएको हो । उहाँले सरकारले समेत आगामी दिनमा तरलता सहज हुने गरी विभिन्न क्षेत्रमा लगानी भित्र्याउने काममा ध्यान केन्द्रीत गर्ने बताउनुभयो । ‘अब हामी विभिन्न क्षेत्रमा लगानी भित्र्याउनेछौं । पूर्वाधार, आइटी लगायतका क्षेत्रमा सकेजति लगानी भित्र्याउनेछौं । हामीसँग भएको पूँजीको सही परिचालनबाट समेत तरलता सहज बनाउने हाम्रो योजना छ,’ उहाँले भन्नुभयो ।

त्यस्तै आइटीमा अन्य देश धेरै अगाडि बढे पनि नेपाल पछाडि परेको भन्दै यो क्षेत्रमा सवल जनशक्ति निर्माणमा गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उहाँले अझै पनि विदेशबाट करिब ४० प्रतिशत रेमिटान्स हुण्डीमार्फत नेपाल भित्रिने गरेको उल्लेख गर्दै यसलाई औपचारिक च्यानलमा ल्याउन निजी क्षेत्र र सरकारबीच सहकार्य हुन आवश्यक रहेको बताउनुभयो ।

‘कोरियाबाट २५ प्रतिशत रेमिटान्स मात्र औपचारिक च्यानलबाट आइरहेको छ । समग्रमा ६० प्रतिशत रेमिटान्स मात्र सही ढंगले आउने गरेको रहेछ ।’ उहाँले थप्नुभयो,‘सरकारको ध्यान हुण्डी नियन्त्रणतर्फ पनि छ । यसमा आइएमई समूह जस्ता निजी क्षेत्रका घरानाहरुले हामीलाई साथ दिनुपर्छ ।’ उहाँले निकट भविष्यमा राष्ट्रबैंकको सहजीकरणमा विदेशमा श्रम गर्नेले आफ्नो मोवाइल वालेटबाट सहजै रेमिटान्सको रकम नेपालमा रहेका प्रियजनलाई पठाउने सुविधाको विकास गरिने पनि बताउनुभयो ।