काठमाडौँ, २९ जेठ । एउटा कोठाबाट सुरु भएको संस्थाले वार्षिक करिब एक खर्बभन्दा बढीको विप्रेषण भित्र्याउँछ, भन्दा सामान्य मानिसले पत्याउँदैन । आइएमई लिमिटेडले पछिल्ला दिनमा वार्षिकरुपमा एक खर्ब वा सोभन्दा बढी विप्रेषण भित्र्याएर मुलुकको आर्थिक समृद्धिमा योगदान पु¥याएको छ । पछिल्ला दिनमा विप्रेषण भित्रनेक्रम पनि उत्तिकै बढेको छ । चन्द्रप्रसाद ढकाल । धेरैले सुनेको, बुझेको र चिनेको नाम हो । निजी क्षेत्रमा त यो नाम निकै चर्चित छ ।
नेपालका सीमित सफल औद्योगिक घरानाको प्रणेताहरु सम्झनुपर्दा चन्द्र ढकालको नाम पनि अगाडि आउँछ । चन्द्र ढकालसँगै जोडिएर आउने अर्को नाम हो ‘आइएमई’ । आइएमई समूहका संस्थापक ढकालले कम्पनी सुरु गरेको २२ वर्षमा आफ्नो व्यापार व्यवसायको साम्राज्य नै खडा गर्नुभएको छ । ढकालको व्यवसायिक यात्राको सुरुवात भएको थियो आइएमई लिमीटेडबाट, २२ वर्षअघि । यो कम्पनीले आजै काठमाण्डौको एभरेष्ट होटलमा २२ औं वार्षिकोत्सव पनि मनायो । आइएमई समूहको सुरुवात र यो समूहको स्थापनाको मुख्य आधार मानिने आइएमई लिमीटेडको २२ औं वार्षिकोत्सवको अवसरमा ढकालले आफ्नै विगत कोट्याउनुभयो। २२ वर्षभन्दा अगाडि नै चन्द्र ढकाल र उनका भाई अर्थात हाल आइएमई समूहका सहसंस्थापक हेमराज ढकाल वैदेशिक रोजगारीका शिलशिलामा जापान जानुभएको थियो । जापानमा श्रम गर्ने क्रममा नेपाली कामदारहरुले पैसा पठाउँदा भोग्नु परेका समस्यालाई नजिकबाट नियाल्ने मौका पाउनुभयो ।
त्यहीँबाट ढकाल दाजुभाईमा मनि ट्रान्सफर स्थापना गरी कारोबार थाल्ने नवीन सोंच आएको थियो । त्यही सोंचले मूर्त रुप पाउँदा ‘इन्टरनेशनल मनि एक्सप्रेस’ अर्थात आइएमई जन्मिएको थियो । ‘म पनि कुनै बेला वैदेशिक रोजगारीमा गएको मान्छे हो । विदेशमा श्रम गर्दा गर्दै यो कम्पनीको आइडिया फुरेको थियो ।’ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै चन्द्र ढकालले भन्नुभयो –‘त्यसपछि हामीले मलेशियाबाट औपचारिक च्यानल प्रयोग गरी रेमिटान्स भित्र्याउने कामको औपचारिक थालनी गरेका थियौं ।’ उहाकाँ अनुसार कम्पनीको सुरुवाती बेलामा एउटा सानो कोठा भाडामा लिइएको थियो । ठाडो सुत्दा एकजना मात्र अट्ने सानो खाटमा ४ जनासम्म तेर्सो परेर सुत्ने गरेका कठीन दिनहरु पनि उहाँले सम्झिनुभयो । ‘सानो कोठामा एउटा सानो खाटमा ३–४ जनासम्म सुत्थ्यौं, त्यही कोठालाई अफिस पनि बनाइएको थियो ।’ उहाँले सम्झिनुभयो–‘त्यहीँ कोठा हाम्रो भान्छा पनि थियो, एकहिसाबले भन्दा सबैथोक नै त्यही थियो ।’
कठीन अवस्थासँग जुध्दै सुरु गरेको आइएमई लिमीटेड पछि अन्य क्षेत्रमा समेत विस्तार हुँदै गयो । आम्दानी बढ्दै गएपछि आइएमई समूह बन्यो र यो समूहले अहिले विविध क्षेत्रमा निकै ठूलो लगानी गरिसकेको छ । ‘२२ वर्षको दौरानमा ४०–४५ हजारले प्रत्यक्ष अप्रत्यक्ष रोजागरी पाएका छन् भन्दा आज आफैंलाई गर्व महसुस हुन्छ ।’ उहाँले थप्नुभयो–‘कुनै बेला हामी वैदेशिक रोजगारीमा गएका थियौं, आज हामीले त्यसबेला केही फरक सोच्दा कबिर ४५ हजारले रोजगारी पाउने अवस्था सिर्जना भएको छ ।’ ढकालले नयाँ ढंगले सोच्ने हो भने आफूहरुले जस्तै मुलुकले पनि रोजागरीका अथाह अवसरहरु सिर्जना गर्नसक्ने र नेपालीहरुलाई विदेश जानैपर्ने अवस्थाको अन्त गर्न सकिने तर्क समेत पेश गनुृभयो । ‘आइएमईको सुरुवात हुँदै गर्दा मैले मासिक २० लाख डलर रेमिटान्स हाम्रो कम्पनीबाट भित्र्याउँछु भन्दा नियामकका अधिकारी, आफन्त र साथीभाईले समेत चन्द्रले उच्च महत्वकांक्षा राख्यो भन्नुहुन्थ्यो ।’
निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन उद्योग वाणिज्य महासंघका वेटिङ प्रेसिडेन्ट समेत रहेका ढकालले भन्नुभयो –‘आज वार्षिक झण्डै एकखर्ब रेमिटान्स आइएमईमार्फत नै नेपाल भित्रिन्छ ।’ उहाँले विदेशबाट रेमिटान्स पठाउने कार्यको पर्यायवाची आइएमई भएको उल्लेख गर्दै आगामी दिनमा विदेशमा नेपाली श्रमिकले कमाएको पैसाको समुचित उपयोग तथा उत्पादनमूलक क्षेत्रमा प्रयोगका लागि आफूहरुसँग धेरै अजेण्डा रहेका र त्यसमा साथ र सहकार्य गर्न सम्बद्ध सबै सरोकारवालाहरुलाई आग्रह गर्नुयभो । ‘हामीसँग एनआरएनएहरुले सहकार्य गर्नुभएको चन्द्रागिरी हिल्स लिमीटेड आज मुलुककै सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।’ उहाँले थप्नुभयो–‘एनआरएनएहरुसँगको सहकार्यमा २७ मेगावाटको जलविद्युत आयोजना बनिसकेको छ । यस्ता धेरै प्रोजेक्टहरुको विकास गर्न सकिन्छ ।’ कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई लिमीटेडका सहसंस्थापक हेमराज ढकालले आफूहरुले नेपालमा रेमिटान्स भित्र्याउन गरेको प्रयोग विश्वभर उदाहरणको विषय भएको बताउनुभयो । ‘आइएमईले गरेको प्रयोगलाई विश्व बैंकजस्ता संस्थाहरुमार्फत अफ्रिका लगायतका देशहरुमा समेत लागू गरिएको छ ।’ उहाँले थप्नुयभो –‘हामीले गरेको नवीन प्रयोग सफल बन्दै जाँदा यसमै आधारित रहेर रेमिटान्स आउने देशका सरकारहरुले नीति बनाएका छन् ।’
उहाँले आइएमई लिमीटेड जापानमा काम गर्न जाँदा जन्मिएको आइडियाको उपज रहेको बताउनुभयो । ‘यो कम्पनी स्थापना भएको २२ वर्ष भयो । तर, कम्पनी स्थापनाका अन्य आधारहरु तयार गर्न थालेको अवधिलाई समेत जोड्ने हो भने करिब ३० वर्ष भयो ।’ उहाँले थप्नुयभो –‘यो सफलताका पछाडि सबै क्षेत्रको साथ र सहयोगले महत्वपूर्ण काम गरेको छ । हामी सबैप्रति नमन व्यक्त गर्न चाहन्छौं ।’ आइएमई लिमीटेडको वार्षिकोत्सवलाई अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्