जनता टाइम्स

३० जेष्ठ २०७९, सोमबार १५:०९

गण्डकीको नीति तथा कार्यक्रम पारित


पोखरा, ३० जेठ । गण्डकी सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । आजको संसद बैठकबाट नीति तथा कार्यक्रम पास भएको हो । २४ जेठमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम सदनमा पेश गरेका थिए । त्यसपछि दफावार छलफल गरेर आज पास गरिएको हो । योसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । १ असारमा बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।

सरकारले आगामी वर्षको लागि ३६ देखि ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । यो बजेट नै बहालवाला सरकारको अन्तिम बजेट र नीति तथा कार्यक्रम हुनेछ । संघले मंसिर पहिलो साता आमनिर्वाचन गर्ने तयारी समेत गरेको छ । गण्डकीमा पहिले बनेको सरकार ढलेर अघिल्लो वर्षको २९ जेठमा गठबन्धनको नयाँ सरकार बनेको हो ।

पहिले एमाले र माओवादी तथा जनमोर्चाको समर्थनमा दुई तिहाई बहुमतको सरकार बनेको थियो । ५ पुसपछि प्रतिनिधिसभा विघटनको घटनाले सबैभन्दा पहिले गण्डकीको सरकार परिवर्तन भएको हो । एमालेका नेता पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा रहेको सरकार ढलेर कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार बनेको छ ।