जनता टाइम्स

१ श्रावण २०७६, बुधबार १३:४४

अमेरिकाको डिसी मेट्रो क्षेत्रका नेपालीले एउटै सप्ताहबाट संकलन गरे दश लाख डलर


वासिङ्टन डिसी, साउन १ । अमेरिकी राजधानी वासिङ्टन डिसीको मेट्रो क्षेत्रमा बसोवास गर्दै आएका नेपालीहरूले सप्ताह पुराणबाट दश लाख भन्दा बढी अमेरिकी डलर संकलन गरेका छन ।

सामुदायिक भवनसहितको मन्दिर निर्माणका लागि नेपाली अमेरिकन कक्यूनिटी सेन्टरले आयोजना गरेको सप्ताहमा बीस लाख भन्दा बढी कबोल भएकोमा १० लाख १२ हजार ६ सय ७९ डलर सङ्कलन भएको हो । १० लाख १७ हजार ३ सय ६२ डलर संकलन गर्न बाँकी रहेको पुराण आयोजकहरूले जनाएका छन । मन्दिर तथा सामुदायिक भवन बनाउन अमेरिकाका विभिन्न राज्यहरूमा सप्ताह तथा अन्य कार्यक्रमहरू आयोजना भए पनि एकै सप्ताहबाट यति ठुलो रकम सङ्कलन भएको यो पहिलो पटक हो ।

वासिङ्टन डिसी मेट्रो क्षेत्रमा पर्ने डिसी, मेरिल्याण्ड र भर्जिनिया राज्यमा रहेका नेपाली समुदायका लागि आफ्नै सामुदायिक केन्द्र, मन्दिर तथा दाहसंस्कार केन्द्रको समेत स्थापना गर्ने लक्ष्यमा साथ सो पुराणको आयोजना गरिएको थियो । पुराणको सञ्चालन वाचन प्रवीण पण्डित दिनबन्धु पोख्रेलले गर्नुभएको थियो ।

आफ्नो क्षेत्रमा पहिलो पटक साता ब्यापीरुपमा आयोजित सो सप्ताह पुराणमा स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो । रकम सङ्कलनका लागि आयोजक संस्था नेपाली अमेरिकन कक्यूनिटी सेन्टरले संस्थाको सदस्यतालाई विभिन्न भागमा विभाजन गरेको थियो ।

जस अन्तर्गत हाल सम्म ३० जना संस्थापक बेनेफ्याक्टर, ११ जना संस्थापक संरक्षक सदस्य, ६ जना प्लाटिनम सदस्य, १ सय ४३ जना ट्रस्टी (गुठियार ) सदस्य र सर्वाधिक रूपमा ५ सय २९ जना आजीवन सदस्य भएका छन् २५०० डलर तिरेर बन्न सकिने आजीवन सदस्य अगष्ट महिनाको १४ तारिखसम्म एक हजार डलरमा बन्न सकिने पुराण आयोजक समितिका प्रचार संयोजक पत्रकार गुणराज लुईटेलले जानकारी दिनुभयो ।

आयोजक समितिले सामुदायिक भवनका निर्माणका लागि जमिन खोज्ने कार्य अघि बढाएको छ । सोही सप्ताहमा सहभागी हुने क्रममा पण्डित दिनबन्धु पोखरेललाई अमेरिकाको मानार्थ नागरिकता प्रदान गरिएको थियो ।