जनता टाइम्स

२ असार २०७९, बिहीबार १६:२६

नेप्सेमा दोहोरो अंकको वृद्धि


काठमाडौं, २ असार । लामो समयको अन्तरालपछि आज सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक १२.५७ अंकले बढ्दै १९ सय ७८.९४ विन्दुमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ समेत ३.१० अंकले बढ्दै ३८२ बिन्दुमा उक्लिएको छ ।

दोहोरो अंकले नेप्से बढेको बजारमा कारोबार रकम भने एक अर्ब १८ करोडमा नै सीमित हुन पुगेको छ । यसदिन १३ वटा उपसूचकमध्ये जीवन बिमा समूह र इन्भेष्टमेन्ट समूह बाहेकका अन्य ११ उपसूचक धनात्मक (पोजेटिभ) भएका छन् ।

सबैभन्दा बढी अन्य समूहको उपसूचक २.८१ प्रतिशतले बढेको छ भने जीवन बीमा र इन्भेष्टमेन्ट समूहको उपसूचक क्रमशः ०.०४ प्रतिशत र ०.१ प्रतिशतले घटेको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले अधिकतम १० प्रतिशतले कमाएका छन् ।