जनता टाइम्स

३ असार २०७९, शुक्रबार १४:३८

विश्वमा नै पहिलो पटक नेपालमा हप्ताको ६ दिन सेयर कारोबार, आज नेप्से ७ अंकले गिरावट


काठमाडौं, ३ असार । आज कारोबार सञ्चालन भएसँगै नेपालमा सेयर कारोबार सातामा ६ दिन सुरू भएको छ । अन्य देशहरुमा सातामा ५ दिन मात्रै सेयर कारोबार हुने गरेकोमा नेपालमा भने हप्तामा ६ दिन नै सेयर कारोबार थालिएको हो । अब आइतबारदेखि बिहीबारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार ११ बजेदेखि १ बजेसम्म मात्रै सेयर कारोबार हुने छ ।

सरकारले आइतबार सार्वजनिक बिदा दिँदा सोमबारदेखि शुक्रबारसम्म ५ दिन मात्रै सेयर कारोबार भएको थियो । पहिले आइतबारदेखि बिहीबारसम्म ५ दिन नै कारोबार हुन्थ्यो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का सूचना अधिकारी मुराहरि पराजुलीले विश्वमा नै पहिलो पटक नेपालमा हप्तामा ६ दिन सेयर कारोबार सुरू भएको बताउनुभयो । आज बजार ७.५७ अंकले घटेको छ । ०.३८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९७१.३६ अंकमा झरेको हो ।

साताको अन्तिम दिन आज ७३ करोड ६२ लाख ३५ हजार बराबरको सेयर खरिदबिक्री भएको हो । भने, २ सय २० वटा कम्पनीका २३ लाख ५४ हजार ९ सय ११ कित्ता सेयर कारोबार भएको छ । आज आँधिखोला लघुवित्तको सबैभन्दा धेरै ९.९९ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ । त्यस्तै नेपाल टेलिकमको सबैभन्दा धेरै १० करोड १४ लाख ७० हजारको कारोबार भयो ।