जनता टाइम्स

३ असार २०७९, शुक्रबार १६:००

स्वदेशी चियाको प्रवर्द्धन गर्न बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी सुरु


बुटवल, ३ असार । स्वदेशी चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा आजदेखि नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीमा देशभरीका चिया उत्पादक किसान, उद्योगी तथा व्यवसायी सहभागी छन् ।आफुले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदर्शनीको उदघाटन गर्नुभएको थियो ।

प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि नेपालमा काम गर्दै आएका निजी क्षेत्रका नेपाल टि एसोसिएसन, हिमालयन अर्थोडक्समा टि प्रोड्युसर एसोसिएन नेपाल, नेपाल टि प्रोड्युसर एसोसिएसन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटि टि एसोसिएसन नेपालमा आवद्ध एक सय बढी ब्यवसायीहरुबाट उत्पादित चियाका ब्राण्डहरु राखिएका छन् ।

कार्यक्रमको उदघाटन गर्दै मुख्यमन्त्री केसीले स्वदेशी उत्पादनमूलक उद्योग स्थापनाका लागि प्रदेश सरकार जग्गा उपलव्ध गराउन समेत तयार रहेको बताउनुभयो । ‘बजार प्रवद्र्धन मात्र भनेर पुग्दैन, आन्तरिक उत्पादन पनि बढाउनुपर्छ, तपाईहरु उत्पादनको योजना लिएर आउनुस्, लुम्बिनी प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयमा जग्गा उपलव्ध गराउन तयार छ,’ उहाँले भन्नुभयो ।

लुम्बिनी प्रदेश सरकारले स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने नीति लिएको उल्लेख गर्दै उहाँले विदेशी उत्पादन निरुत्साहित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आउने दशै तिहारमा भारतबाट आउने गरेको फुलमालालाई पूर्ण प्रतिबन्धन लगाईने जनाउँदै निजी क्षेत्रसँग सहकार्य गरेर जान प्रदेश सरकार सधैं अग्रसर रहेको बताउनुभयो ।

उहाँले व्यवसायीहरुलाई लुम्बिनी प्रदेशको गुल्मी लगायतका जिल्लामा उत्पादित कफीको प्रबद्र्धन र बजारीकरण गरिदिन आग्रह समेत गर्नुभयो । कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले आम नागरिकलाई चिया पिउने सही तरिका बताउने र नेपाली चियाको बारेमा बजार बिस्तार गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

नेपाली उत्पादन नेपालमा खपत भएर आर्थिक रुपमा सबल हुन सक्ने सम्भावना रहेको उहाँको भनाइ छ । विजनेश हबका रुपमा बुटवललाई चिनाउने रुपमा कार्यक्रम गरिन लागेको उहाँले बताउनुभयो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. दिपक खनालले नेपालबाट ठूलो परिमाणमा चिया निर्यात हुने गरेको बताउँदै बोर्डले स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि पहिलोपल्ट चिया प्रदर्शनी कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।

बोर्डका कृषि विकास अधिकृत चन्द्र पुरीले स्वदेशी उत्पादनको प्रयोगलाई बढाउन, स्वदेशी चियाको आम उपभोक्तामाझ जनचेतना जगाउन र आम नेपालीमा स्वदेशी उत्पादनको प्रयोग गर्ने बानी बसाल्नका लागि पनि यो प्रदर्शनी सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नेपाल टि एसोसिएसनका कमल मैनालीलगायतले पनि मुलुकको आर्थिक उन्नती र समृद्धिको यात्रालाई अघि बढाउन स्वदेशी उत्पादन बढाउनुपर्ने र स्वदेशी वस्तु निर्यात गरी विदेशी मुर्जा आर्जन गर्ने दिशातर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली चिया विश्व बजारमा निकै ख्याती कमाएको भएपनि देशकै धेरै ठाउँमा पुग्न नसकेको उहाँले बताउनुभयो । सिटिसी र अर्थोडक्स चिया मध्ये सिटिसी उपभोक्ताहरु माझ माग भएको उहाँले सुनाउनुभयो । देशका ७० जिल्लामा अर्थोडक्स चियाको बारेमा जानकारी नपाएको भेटिएको एक अनुसन्धानमा देखिएको पनि उहाँले बताउनुभयो ।

सिटिसी चिया ५० प्रतिशतले आन्तरिक माग पुग्ने बाँकी विदेश निर्यात हुने बताउँदै उहाँले अर्थोडक्स चिया ८० प्रतिशतभन्दा बढी विदेश जाने गरेको जानकारी दिनुभयो । नेपाली चियाको गुणस्तर र स्वादका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ । आर्थिक वर्ष २०७७/०७८ मा नेपालले तीन अर्ब ७९ करोड रुपैया मूल्य बराबरको चिया निर्यात गरेको छ ।

चियाको ईतिहासलाई केलाउँदा ईलामको तत्कालीन बडाहाकिम गजराज सिह थापाले बिसं १९२० मा इलाममा चिया रोपण गरेपछि नेपालमा चिया खेती शुरु भएको मानिन्छ । नेपाली चियाको इतिहास १५० वर्षभन्दा पुरानो छ । आव २०७७/०७८ मा नेपालमा १६ हजार ९१७ हेक्टरमा चिया रोपण भएर २३ हजार ७४५ मेट्रिक टन तयारी चिया उत्पादन भएको थियो ।

१६ हजार बढी चिया किसान र ६० हजार भन्दा बढी श्रमिकहरु चियाको विभिन्न मूल्य श्रृखलामा संलग्न रहेका छन । अहिलेकै चियाको उत्पादन र बिदेश निर्यातको अनुपात हेर्दा नेपालबाट वार्षिक १० अर्बको निर्यात मूल्य बनाउने सम्भावना रहेको छ । प्रदर्शनीमा ३० वटा स्टलहरु राखिएका छन् । कार्यक्रम शनिबार सम्म चल्ने छ ।