काठमाडौं, असार ५ । नेपाल प्रहरीको महानिरिक्षक (आईजीपी) नियुक्ती सम्बन्धी विवादको अन्तिम सुनुवाइले आइतबारदेखि निरन्तरता पाउँदै छ। जेठ ३० गते कामु प्रधानन्यायाधिश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासले अन्तिम सुनुवाइ सुरु गरेपनि बहस नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो।
प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) का लागि भएको सिफारिसविरुद्ध रिट हालेतका तीन नायब महानिरिक्षक (डीआईजी) र आईजीपी बढुवा सम्बन्धी विश्वराज पोखरेलले दर्ता गर्नुभएको रिटलाई लगाउमा राखेर एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको छ।
एआईजी सिफारिसविद्ध रिट हालेका घनश्याम अर्याल, प्रकाशजङ कार्की र ईश्वरबाबु कार्कीले अवकाश पाइसक्नुभएको छ। आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजिपी बनाएको भन्दै रिट हाल्नुभएका पोखरेलले पनि बढुवा नभए आगामी साउन २० देखि अवकाश पाउनु हुनेछ।
अन्तिम सुनुवाइका क्रममा एआईजी सिफारिस मुद्धामा दुवै पक्षबाट बहस भइसकेको छ भने आईजीपी सम्बन्धी विवादमा निवेदकतर्फ बाट एक जना कानुन व्यवसायीले बहस सकेका छन्। सोही स्थितिबाट आज सुनुवाई सुरु हुने छ। सरकारले गत बैशाख १८ गते धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट पोखरेलले सरकारको निर्णयविरुद्ध रिट हाल्नुभएको थियो ।
बैशाख २० गते सुश्मलता माथेमाको एकल इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेपनि पेशी सार्न नमिल्ने गरि जेठ १७ गतेका लागि अन्तिम सुनुवाइको मिति तोकेको थियो। जेठ १७ गते मुद्धा लगाउमा राखिएको र कतिपय विपक्षीलाई म्याद तामेल नभएको भन्दै जेठ ३० गतेका लागि पेशी तोकिएको थियो।
प्रतिक्रिया दिनुहोस्