शिक्षा संस्कारले मात्र जो कोही द्विज बन्दछ !
काले राई भए स्वामी प्रपन्नाचार्य पण्डित !!
व्रतबन्धको सार सौन्दर्य अङ्कित सूत्रात्मक सूक्ति उक्तिहरु ब्यानरमा सजाई हालै इटहरीमा आधुनिक ब्रतबन्ध सम्पन्न भएको छ । इटहरी ४ स्थित दुर्गा पार्टी प्यालेसमा यही २०७९ असार ४ गते भट्टराई परिवारले आफ्ना दुई पुत्र अमन तथा अन्सुअल भट्टराईको ब्रतबन्ध समारोह सम्पन्न गरेका छन् ।
दीयो, कलश र गणेश पूजा सहित व्रतबन्ध सम्बन्धी सार संक्षेप मन्तव्य उल्लेख गरी उपर्युक्त दुई बटुकका पिता माता टङ्कप्रसाद तथा प्रतिभा (पुनम ) भट्टराईले उक्त समारोह आयोजना गरेका हुन् । बिरालो बाँध्ने संस्कारका कारण कुनै पनि संस्कारको सही पक्ष ओझेलमा परेको बटुकहरुकी हजुरआमा तथा अर्वाचीन पुराण समाज, इटहरी ५ की सचिव मिथिला पोखरेलले बताउनु भयो । पोखरेलका अनु्सार व्रतबन्ध समारोह नाम दिएको उक्त समारोहमा पण्डित तथा सेवा निवृत्त वरिष्ठ शिक्षक युवराज गौतम, इटहरी ५ ले व्रतबन्धको सर्वप्राचीन सन्दर्भ उल्लेख गर्दै बटुकका मामली हजुर्वा प्रा.डा. बद्रीविशाल पोखरेलको परिकल्पनामा यस खालका नवीन संस्कार विधिहरु अपनाइएको बताउनु भयो ।
यस खालका सरल तथा मितव्ययी वैकल्पिक संस्कार विधि प्रयोगमा आउँदा र ल्याउँदा वैदिक सनातन वा अन्य धर्म र सम्प्रदायका उपयोगी संस्कार विधिहरु बचाउन सकिने पनि गौतमले बताउनु भयो । गौतमका अनुसार हाम्रा पुर्खाहरुले संस्कार विधिका अनेक विकल्प सुझाएका छन् । आधुनिक व्रतबन्ध वा समारोह थप एउटा विकल्पका रुपमा आएको हो । समारोहमा सजाइएको निम्न श्लोकले यस सन्दर्भलाई स्पष्ट पारेको उहाँले बताउनु भयो ।
पुर्खाले जे जति सिर्जे संस्कारहरू ती सब !
समय काल सापेक्ष बनाई लागु गर्नुछ !!
२० वर्ष उमेरका अमन भट्टराई अमेरिकाको क्यालिफोर्नियास्थित फोल्सम कलेजमा कम्युटर साइन्समा स्नातक स्तरमा अध्ययनरत हुनुहुन्छ भने उहाँका भाइ अन्सुअल भने पोल्समको सटर मिडिल स्कूलमा कक्षा सातमा अध्ययन गरिरहनु भएको छ । स्कूल बिदामा आएका बेला उनीहरुको व्रतबन्ध गरिएको आधुनिक गीतकार समेत रहनुभएकी बटुकहरुकी आमा प्रतिभाले बताउनु भयो ।
समारोहमा हजुरबुवा डा. पोखरेलले बटुकहरुको पारिवारिक तथा उनीहरुको व्यक्तिगत परिचय गराउँदै प्रतिज्ञा गराउनु भएको थियो । लिखित प्रतिज्ञामा बटुकहरुलाई शिक्षादीक्षा लिने कार्यमा अनुशासित, नैतिक तथा आज्ञाकारी भई लागि पर्ने, शिक्षित हुने र भविष्यमा आआफ्ना ज्ञान र सीप अनुसार खाइ जीविका गर्र्दै समाज सेवा पनि पर्ने प्रण गराइएको थियो ।
व्रतबन्ध सम्बन्धी वास्तविक सत्य तथ्य झल्काउने श्लोक, सूक्ति तथा उक्तिहरु व्यानरमा सजाइएको थियो । उक्त कार्यक्रममा छुवाछुत विरोधी तथा व्रतबन्ध जस्ता संस्कारलाई उदार बनाउन अद्वितीय भूमिका निर्वाह गर्ने पूर्वका व्यास भनेर चिनिने पं. छविलाल पोखरेलको विशेष सम्झना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्