कुलप्रसाद काफ्ले/चितवन । चितवनका सात वटै पालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएका छन् । पालिकाका उपप्रमुख तथा उपाध्यक्षले नगर तथा गाउँ सभाको अधिवेशनमा आगामी आवको लागि बजेट पेस गरेका हुन् । दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले पहिलो आवको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।
जिल्लाका सात पालिकाले आगामी आवको लागि ११ अर्ब ६५ करोड ८ लाख ३९ हजार रुपैयाँको बजेट ल्याएका छन् । सबैभन्दा धेरै भरतपुर महानगरपालिकाको बजेट छ भने सबैभन्दा थोरै इच्छाकामना गाउँपालिकाको छ । बजेटमाथि कार्यपालिका सदस्यका बीचमा दफावार छलफलपछि केहि दिनमा नै बजेट पारित गर्नुपर्ने व्यवस्था छ ।
भरतपुर महानगर
भरतपुर महानगरको बजेट सात पालिकाको कुल बजेटको आधा छ । महानगरले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बजेट ल्याएको छ । महानगरको नगरसभाको ११औँ अधिवेशनमा नगर उपप्रमुख चित्रसेन अधिकारीले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट प्रस्तुत गर्नुभएको हो ।
आगामी आवको बजेटका लागि आन्तरिक आयमा एक अर्ब ५० करोड प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात एक अर्ब ३० करोड र मर्मत सम्भार कोषबाट ४ करोड प्राप्त हुने अनुमान छ ।
सडक बोर्ड नेपालबाट ३ करोड, अन्तरसरकारी अख्तियारी शीर्षकमा एक अर्ब ४० करोड र जिल्ला समन्वय समितिबाट ५ करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ । महानगरले अधुरा आयोजनाका लागि एक अर्ब ३० करोड रुपैयाँ छुट्याएको छ । वडास्तरबाट हुने आयोजनाका लागि प्रत्येक वडालाई दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
राप्ती नगरपालिका
राप्ती नगरपालिकाले आगामी आवका लागि ९० करोड बराबरको बजेट सार्वजनिक गरेको छ । शुक्रबार आयोजित एघारौँ नगर सभाले आगामी आवको लागि ९० करोड ९२ लाख ६४ हजार बराबरको बजेट ल्याएको हो । सभामा नगर उपप्रमुख देवेन्द्र लामाले आगामी आर्थिक वर्षको बजेट पेस गर्नुभएको हो ।
उपप्रमुख लामाका अनुसार चालुतर्फ ५३ करोड २० लाख तथा पुंजीगततर्फ ३७ करोड ७२ लाख ६४ हजार बराबरको बजेट छ । नगरले आन्तरिक स्रोतबाट ८ करोड ५० लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ । संघ र प्रदेशको अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट ६३ करोड १८ लाख ८८ हजार रुपैयाँ प्राप्त भएको छ ।
नगर सभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख शमशेर लामाले कृषि र किसान लाभान्वित हुने कार्यक्रम ल्याइएको बताए । कृषि क्षेत्रको विकासका लागि बीमा सुविधा, भण्डारण, कृषि सामाग्रीको सरल र नियमित उपलब्धता, सिंचाई लगायतको व्यवस्था गरिने प्रमुख लामाले बताउनु भयो ।
खैरहनी नगरपालिका
खैरहनी नगरपालिकाले आगामी आवका लागि १ अर्ब १ करोड १२ लाख ५१ हजार रुपैयाँ बजेट ल्याएको छ । शुक्रबार भएको नगर सभामा नगर उपप्रमुख कविता उप्रेतीले नगर प्रमुखले पेश गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट पेश गर्नुभएको हो ।
प्रस्तुत बजेटमा आन्तरिक आम्दानी १५ करोड ८ लाख संकलन हुने अनुमान छ । त्यस्तै जिल्ला समन्वय समितिबाट प्राप्त हुने सहयोग ५० लाख, संघीय सरकार सशर्त अनुदान ४ करोड, समानीकरण अनुदान १८ करोड १८ लाख, राजस्व बाँडफाँट भई प्राप्त हुन आउने ११ करोड ५७ लाख, समपुरक अनुदान १ करोड २० लाख र विशेष अनुदान ३ करोड ५८ लाख आउने अनुमान छ ।
प्रदेश सरकारबाट सशर्त अनुदान २ करोड ४२ लाख, समानिकरण अनुदान १ करोड ७८ लाख, राजस्व बाँडफाँट भई आउने सवारी साधन कर ६ करोड ९४ लाख, विषेश अनुदान ६५ लाख, समपुरक अनुदान १ करोड ६२ लाख, सडक बोर्ड नेपालबाट ५० लाख र भारतीय दूतावासबाट प्राप्त हुने अनुदान ३ करोड ४ लाख बजेटमा समावेश गरिएको छ ।
कालिका नगरपालिका
कालिका नगरपालिकाले आगामी आवको लागि ८५ करोड ९७ लाख ५१ हजार रुपैयाँ बजेट ल्याएको छ । शुक्रबार नगर सभाको ११औँ अधिवेशनमा उपप्रमुख विमला तामाङले बजेट प्रस्तुत गर्नुभएको हो ।
संघीय सरकारबाट समानिकरण अनुदान १५ करोड ५६ लाख, सशर्त अनुदान २३ करोड ४२ लाख, विशेष अनुदान १ करोड, राजस्व बाँडफाँटबाट ११ करोड ६० लाख ४ हजार, समपुरक अनुदान १ करोड, खानी तथा खनिज रोयल्टी ५ लाख र वन रोयल्टीबाट ५ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड ४९ लाख, सशर्त अनुदान २ करोड ३९ लाख ६६ हजार, राजश्व बाँडफाँटबाट ५ करोड ५० लाख २९ हजार र समपुरक अनुदान २ करोड ९९ लाख ९८ हजार रुपैयाँ प्राप्त हुने तामाङले जानकारी दिइन् । नगरपालिकाले आन्तरिक स्रोतबाट ३ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ ।
यसका अलवा मालपोत कार्यालयबाट ४ करोड, राजश्व बाँडफाँट र खोलाजन्य पदार्थबाट १ करोड, जिल्ला समन्वय समितिबाट १ करोड, सडक बोर्डबाट ४० लाख, जनसहभागिताबाट १ करोड र नगर मौज्दात १० करोड रहने अनुमान छ ।
रत्ननगर नगरपालिका
रत्ननगर नगरपालिकाले आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १ अर्ब ३७ करोड २७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगर उपप्रमुख यादवप्रसाद पाठकका अनुसार नगरपालिकाले आन्तरिक स्रोतबाट ११ करोड रुपैयाँ आम्दानी गर्नेछ ।
संघीय सरकारको राजश्व बाँडफाँडबाट १२ करोड २८ लाख ८० हजार, वित्तीय समानीकरण अनुदान २० करोड ९६ लाख, सशर्त अनुदान ३३ करोड ७६ लाख, विशेष अनुदान ५० लाख, सडक बोर्डबाट प्राप्त ८ लाख, सामाजिक सुरक्षाबाट ३० करोड आम्दानी गर्ने लक्ष्य लिइएको छ ।
प्रदेश सरकारको राजश्व बाँडफाँटबाट ७ करोड ७५ लाख ५१ हजार, वित्तीय समानिकरण अनुदान २ करोड ८ लाख ७५ हजार, सशर्त अनुदान ४ करोड ५ लाख, समपुरक अनुदान २ करोड ७५ लाख ७१ हजार, विशेष अनुदान ३५ लाख, पूर्वाधार विकास कार्यक्रम २ करोड ६७ लाख आम्दानी गर्ने लक्ष्य रहेको छ ।
त्यस्तै, जिल्ला समन्वय समितिबाट ८० लाख र जनसहभागिताबाट १ करोड आम्दानी गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाले ११ वटा गौरवको योजनालाई प्राथमिकता दिएको छ ।
माडी नगरपालिका
माडी नगरपालिकाले एक अर्ब ७ करोड ८० लाख ८२ हजार बजेट ल्याएको छ । नगर उपप्रमुख खेम महतोले चालुतर्फ ४१ करोड ५० लाख र पुँजीगततर्फ ६५ करोड ४८ लाख १६ हजार विनियोजन गरिएको बताउनु भयो ।
आगामी आवको बजेटका लागि आन्तरिक स्रोतबाट १४ करोड २० लाख ७० हजार, अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट ७५ करोड ८२ लाख र राजस्व बाँडफाँड, जिसस, जनसहभागिता लगायतबाट १७ करोड ९५ लाख ४६ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ । माडीमा कृषि, पर्यटन, सडक पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।
इच्छाकामना गाउँपालिका
इच्छाकामना गाउँपालकाले आगामी आवको लागि ६७ करोड ५५ लाख ३५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाले सबैभन्दा धेरै पूर्वाधार विकासमा बजेट छुट्याएको छ, जसमा आठ करोड ८४ लाख रुपैयाँ रहेको छ । स्थानीय सडक, पुल तथा झोलुंगे पुल निर्माणको लागि मात्रै पाँच करोड ७७ लाख रूपैयाँ बजेट विनियोजन भएको छ ।
गाउँपालिकाले कृषि क्षेत्रको लागि एक करोड २८ लाख रुपैयाँ छुट्याएको छ । सामाजिक विकासतर्फ तीन करोड ७६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । स्वास्थ्यतर्फ महिला स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन भत्ता, इच्छाकामना अस्पताल निर्माण, गर्भवती स्वास्थ्य पोषणलगायतले प्राथमिकता पाएको छ ।
प्रतिक्रिया दिनुहोस्