जनता टाइम्स

१२ असार २०७९, आईतवार १४:२५

एघार महिनामा विभिन्न देशबाट १६ अर्बभन्दा बढीको फलफूल नेपाल भित्रियो


काठमाडौं, १२ असार । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा १६ अर्ब २० करोड ७५ लाख ५० हजार रुपैयाँको फलफूल भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको फलफूल नेपाल भित्रिएको हो । सो अवधिमा नेपालमा १ अर्ब ५७ करोड ४७ लाख ५३ हजार रुपैयाँको केरा नेपाल भित्रिएको छ ।

सोही समयमा १२ करोड ४ लाख ६२ हजार रुपैयाँको भुँइकटहर नेपालले आयात गरेको छ । पछिल्लो एघार महिनामा नेपालले ६ करोड ९१ लाख रुपैयाँको एभोकार्डो, ७१ करोड ७५ लाख ९४ हजार रुपैयाँको आँप र अम्बा, १ अर्ब २४ करोड ८६ लाख २१ हजार रुपैयाँको सुन्तला र २ अर्ब ४२ करोड ७० लाख १६ हजार रुपैयाँको अङ्गुर आयात गरेको छ ।

विभागको तथ्याङ्क अनुसार सोही समयमा ५१ करोड ३१ लाख ९१ हजार रुपैयाँको खरबुजा, २३ करोड ४०लाख २ हजार रुपैयाँको मेवा, ६ अर्ब ६५ करोड ११ लाख ९९ हजार रुपैयाँका स्याउ र ६ करोड २२ लाख ६९ हजार रुपैयाँको किवी नेपाल भित्रिएको छ । बितेको एघार महिनामा १ अर्ब ९ करोड ३ लाख ९८ हजार रुपैयाँको अनार र ३ करोड ८७ लाख ६६ हजार रुपैयाँको लिची पनि नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।