जनता टाइम्स

१३ असार २०७९, सोमबार १०:०५

आदर्श लघुवित्तको आईपीओ बाँडफाँट, ५ भाग्यमानीले पाए ११ कित्ता, यसरी हेर्नुहोस् रिजल्ट


काठमाडौँ , १३ असार । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा बिहान ९ बजे सो शेयर बाँडफाँट भएको हो।

लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको शेयरमा १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको छ भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको छ। स्वीकृत आवेदनमध्ये ६ हजार २६१ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। सोमध्ये पनि ५ भाग्यमानी लगानीकर्ताहरुले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

लघुवित्तले असार १ गतेदेखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। त्यसमध्ये ०।५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो।

लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण गरिएको हो। हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस् ।