जनता टाइम्स

१३ असार २०७९, सोमबार १६:५७

मधेस प्रदेशले युवा महोत्सव आयोजना गर्ने


जनकपुर, १३ असार । मधेस प्रदेश सरकारले पहिलोपटक युवा महोत्सव आयोजना गर्ने भएको छ । प्रदेश महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले यही असार १५ र १६ गते दुई दिन युवा महोत्सव आयोजना गर्ने भएको हो । मन्त्री वीरेन्द्र प्रसाद सिंहका अनुसार ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ आयोजना गरिने छ ।

महोत्सवमा मधेस मन्थन, मधेस जागरण, मधेस हदिया, सांस्कृतिक साँझ, मधेस मान तथा घोषणापत्र सार्वजनिक हुने उहाँले बताउनुभयो ।

उद्योग वाणिज्य संघ जनकपुरमा महोत्सव हुनेछ । सम्पूर्ण युवा तथा सरोकारवालाहरुलाई सहभागिता जनाउन मन्त्री सिंहले आपिल गर्नुभएको छ । युवामैत्री प्रदेश बनाउन सरकार प्रतिबद्ध रहेको र यसमा सरोकारवालाको हातेमालो आवश्यक रहेको उहाँले बताउनुभयो ।