जनता टाइम्स

१४ असार २०७९, मंगलवार १८:३३

जाजरकोटको बारेकोटले हरेक वर्ष डाक्टर र इन्जिनियर पढाउने


जाजरकोट, असार १४ । बारेकोट गाँउपालिकाले हरेक वर्ष एक जना डाक्टर र एक जना इन्जिनियर उत्पादन गर्नेगरी साझेदारीमा आवश्यक शैक्षिक अनुदान दिने भएको छ। अध्यक्ष बीरबहादुर गिरीले यस्तो जानकारी दिनुभएको हो ।

जिल्लाकै दुर्गम बारेकोटमा स्थानीय डाक्टर नहुँदा स्वास्थ्य संस्थामा डाक्टर नबस्ने समस्या छ। गाँउपालिका भित्रका युवाहरुलाई डाक्टर पढ्न आर्थिक सहयोग गरेर प्रोत्साहितगरी जनशक्ति बृद्धि गर्न साझेदारीमा हरेक वर्ष एमबिबिएस डाक्टर पढ्ने विद्यार्थीलाई अनुदान दिईने भएको छ। त्यस्तै ईन्जिनियर पढ्न चाहने विद्यार्थीलाई पनि साझेदारीमा आवश्यक छात्रबृत्तिको ब्यवस्था गरिने भएको अध्यक्ष गिरीले बताउनु भयो ।

सो पालिकाले ४० वर्ष माथिका अविवाहित पुरुषलाई एकल पुरुष सरह भत्ताको ब्यवस्था, विदुर पुरुषलाई भत्ता, पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने, गाँउपालिकामा आगामी वर्ष स्नातक तहको क्याम्पस र बहुप्राविधिक शिक्षालय स्थापना, एक वडा एक उत्पादन, सिल्पाचौरमा होमस्टे स्थापना र संचालन, आइटीपार्क स्थापना, बारेकोटमा नुन डिपोको स्थापना, रोजगार बैंकको स्थापना र सुपथ पसल स्थापना गरिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यसैगरी स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने, चार वटा आधारभूत तहका विद्यालयलाई आइटीसहितको नमुना विद्यालय बनाउने, रंगशाला निर्माण गर्ने, एक घर एक धारा निर्माण, वडामै अपाङ्ग परिचयपत्रको ब्यवस्था मिलाउने, सडकको स्तरोन्नतीगरी सडक नपुगेका वडा र गाँउमा सडक पुर्याउनेलगायतका थुप्रै लोकप्रिय कार्यक्रम अघि सारिएको छ।

बारेकोटले आगामी वर्षको बजेट साढे ४६ करोड रुपैयाँ विनियोजन गरेको छ। गाँउपालिका उपाध्यक्ष नरबहादुर गिरीले गाँउ सभामा ४६ करोड ४१ लाख ९२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्। उक्त बजेट, नीति तथा कार्यक्रम गाँउ सभाले पारितसमेत गरिसकेको छ।