जनता टाइम्स

१४ असार २०७९, मंगलवार २१:५४

पेट्रोलियम अन्वेषणको काम पुनः अगाडि बढ्ने, चिनियाँ टोली नेपालमा


काठमाडौं, १४ असार ।  चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुरू भएको पेट्रोलियम अनुसन्धान काम पुनः अगाडि बढ्ने भएको छ। त्यसका लागि सात चिनियाँ टोली नेपाल आएको पेट्रोलियम परियोजना अन्वेषण प्रमुख दिनेश कुमार नापितले जानकारी दिनुभयो ।

पेट्रोलियम अन्वेषणको काम अघि बढाउन सात जना चिनियाँ सोमवार नेपाल आएको उहाँले बताउनुभयो । नापितका अनुसार चिनियाँ टोली अहिले दैलेखमा ड्रिलिङ इक्वीपमेन्ट लैजान सकिने/नसकिने, खर्च के.कति लाग्ने भन्ने विषयमा अध्ययन गरेर फर्कने छन्। वर्षा सकिएपछि भने अन्वेषणका लागि पुनः आउने छन्। अन्वषेषका लागि चिनियाँसँग थप दुई वर्षको समयावधि पनि थपिएको प्रमुख नापितले बताउनुभयो । दैलेखको पादुकास्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुअरी २८ मा सम्झौता भएको थियो। सम्झौताअनुसार गत फेब्रुअरी २८ मा उक्त सम्झौता सकिएको थियो। तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भएको थियो।

हालसम्म पहिलो चरणको काम सकिएको छ। पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका छन्। अध्ययन गर्दा चार सय वर्ग किलोमिटर क्षेत्रफलमा पेट्रोलियम पदार्थ हुन सक्ने अनुमान छ। त्यसमध्ये पनि सबैभन्दा बढी पेट्रोलियम पदार्थ हुने तीन ठाउँ पत्ता लागिसकेको खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् डा। गणेशनाथ त्रिपाठीले जानकारी दिनुभयो ।

तीन ठाउँमध्ये पनि बढी सम्भावित एक ठाउँ छ। त्यहाँ चार किलोमिटर गहिरोसम्म ड्रिलिङ गर्ने काम कोरोना महामारीले पूरा हुन सकेको थिएन। यो काम महामारीका कारण करिब दुई वर्ष अघिदेखि स्थगित छ। वर्खा पनि चिनियाँ आउँदा यसलाई निरन्तरता दिइनेछ। छिट्टै ड्रिलिङको काम सकिए पेट्रोलियम पदार्थको मात्रा थाहा पाउन सकिन्छ। अन्वेषण टोलीले जमिनको एक्स–रे गरेर ड्रिल गर्न सकिने सजिलो ठाउँ पत्ता लगाइसकेको छ। लामो समयदेखि खोलाको पानीमा तेलजस्तो चिल्लो पदार्थ तैरिएको भेटिएपछि त्यो तेल हुनसक्ने भन्दै अनुसन्धान थालिएको हो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक चीन भ्रमण जाँदा चीन सरकारलाई अनुसन्धानका लागि आग्रह गर्नुभएको थियो ।