जनता टाइम्स

१५ असार २०७९, बुधबार ११:५७

नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामीमा


काठमाडौं, असार १५ । नेपाल फाइनान्सले शुक्रबारदेखि १४ लाख ३९ हजार ४१२ कित्ता सेयर लिलामी खुला गर्ने भएको छ । जसमा कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद असार २४ गतेसम्म रहेको छ । कम्पनीले यसअघि जेठ ६ गतेदेखि २६ गतेसम्म ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।