जनता टाइम्स

२१ असार २०७९, मंगलवार १२:१६

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँड, कसले कति पाए ?


काठमाडौं, २१ असार । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले एक सूचना जारी गर्दै आईपीओ असार २० गते हिजो बाँडफाँट गरेको जानकारी गराएको हो । कम्पनीले जेठ २३ गतेदेखि असार ६ गतेसम्म आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको थियो ।

कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख ९३ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।

जसमध्ये आयोजनाको संरचना रहेको रामेछापको लिखु तामाकोशी गा.पा.को वडा नं. २, ३ र ४ तथा ओखलढुङ्गाको लिखु गा.पा. वडा नं. ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि जम्मा निष्कासन गरिने शेयरको ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाईन पर्ने रामेछापको लिखु तामाकोशी गा.पा. को वडा नं. ५, ६ र ७ र मन्थली न.पा.को वडा नं.११, १२ र १३ तथा रामेछाप न.पा.को वडा नं. १ र ३ का बासिन्दाका लागि २५ प्रतिशत अर्थात ३ लाख ९८ हजार २५० कित्ता बाँडफाँट गरिएको छ ।

त्यस्तै, रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं.१ र ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं. १, २ र ३ लाख ५ प्रतिशत अर्थात ७९ हजार ६५० कित्ता गरी बाँडफाँट गरिएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानीमा क्यापिटल लिमिटेड रहेको थियो । उक्त आईपीओ बाँडफाँडमा नपरेका सेयर बापतको रकम असार २४ गते शुक्रवारदेखि फिर्ता गरिनेछ ।