जनता टाइम्स

२१ असार २०७९, मंगलवार १२:५७

बाली विज्ञान अध्ययनरत विद्यार्थीको राइनासमा धान खेती


लमजुङ, २१ असार । लमजुङको राइनास नगरपालिका–४ सातविसेमा रहेको सौभाग्योदय नमुना माध्यमिक विद्यालयका विद्यार्थीले धान खेती गरेका छन् । कृषि प्राविधिक शिक्षाअन्तर्गत कृषि बाली विज्ञान अध्ययनरत् विद्यार्थी र शिक्षक कर्मचारीले विद्यालयको चार रोपनीभन्दा बढी जमिनमा सामूहिक धान खेती गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको उपस्थितीमा शिक्षक र विद्यार्थीले राइनास नगरपालिका–४ को टिमुरेस्थित विद्यालयको जग्गामा उन्नत जातको धान रोपेका हुन् ।

कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पढाईसँगै व्यावहारिक शिक्षामा पनि दक्ष बनाउने उद्देश्यले विद्यालयले गत वर्षबाट असारे धान खेती लगाउन सुरु गरेको विद्यालयका प्रधानाध्यापक दिनानाथ त्रिपाठीले बताउनुभयो । विद्यार्थीले धान खेतीसँगै समयअनुसारको तरकारी खेती पनि गर्दै आएका छन् । परम्परागत खेतीलाई आधुनिक प्रविधिबाट सिकाउने उद्देश्यले विद्यालयले सैद्धान्तिक र प्रयोगात्मक शिक्षासँगै कृषिसँग सम्बन्धित् आवश्यक संरचना निर्माणलाई पनि प्रथामिकता दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वतन्त्र हमालले बताउनुभयो ।

बाली विज्ञानअन्तर्गत गत वर्ष एसईई दिएका ४० जना नजिताको पर्खाइमा छन् भने हाल कक्षा ९ मा ४२ जना र कक्षा १० मा ४३ जना विद्यार्थी अध्ययनरत छन् । २०१२ सालमा प्राविको रुपमा स्थापित विद्यालय २०२५ सालबाट माध्यमिक तह सञ्चालनमा आएसँगै २०७६ सालदेखि कक्षा ९ मा कृषि बाली विज्ञानको पढाइ शुरु भएको हो । विद्यालयले चालु शैक्षिक सत्रबाट ११ कक्षा सञ्चालनको तयारी गरेको छ ।